चिसो सुरु भएसँगै रुघाँखोकीका विरामी बढ्दै

दाङ । हिउदयाम सुरु भएसँगै दाङसहित देशैभर चिसो बढ्न थालेको छ । चिसो बढेसँगै अस्पतालमा रुघाँखोकीका विरामी समेत बढ्न थालेका छन् । विशेषगरी चिसोले बृद्धृबृद्धा र बालबालिकाहरुमा बढि जोखिममा पर्ने गरेका छन् । चिसोलाई सामान्य रुपमा लिएर हेल्चेक्राइ गर्दा स्वास्थ्यमा जटिल समस्या देखिन सक्ने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा. हरिकिशोर यादवले बताए ।
गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने भएकाले विशेष साबधानी अपनाउनुपर्ने उनले भनाई छ । मौसम परिवर्तन र दिनानुदिन बढ्दो चिसोले दाङसहित देशभरका अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ । अहिले दिउँसो घाम लाग्ने भएपनि बिहान बेलुका चिसो हुने गरेको छ ।
यो मौसममा विशेषगरी रुघाँखोकी र श्वासप्रश्वास संक्रमण हुन सक्ने भएका सतर्क रहनुपर्ने डा. यादवको सुझाव छ । सामान्य रुघाँखोकी मात्रै हुदा धेरै आत्तिन नपर्ने भन्दै तत्काल अस्पताल आएर उपचार गरेमा सन्चो हुने उनको भनाई छ । डा. यादवका अनुसार चिसो मौसममा दम, जोर्नी दुख्ने, बाथ, एलर्जी, पिनास, रुखाखोकी, निमोनिया जस्ता रोगहरुको जोखिम बढी हुने गर्दछ ।
चिसो समयमा हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ । चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ भने चिसो हावामा भाइरस बढी सक्रिय हुन्छन् । त्यसैले गर्दा पनि चिसो मौसममा बढी साबधानी अपनाउनुपर्ने हुन्छ ।