प्रयोगशालाको गुणस्तरवृद्धिमा ध्यानदिन मन्त्री खनालको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रोगको परीक्षणका लागी गरिने प्रयोगशाला खोज्दै प्रदेश बाहिर जानु नपर्ने गरि प्रयोगशालाको गुणस्तर वृद्धिमा ध्यान दिन प्रदेश मातहतका प्रयोगशालाहरूलाई निर्देशन दिए । घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरीय प्रयोगशालाहरूको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नागरिकले सहज ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरणका लागी गुणस्तरीय प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । त्यसका लागी सबै प्रयोगशालाले आफ्ना उपकरण देखी जनशक्तिलाई दक्ष बनाउन सक्नु पर्ने बताए ।
उनले जिल्लामा स्वास्थ्य कार्यालय अन्तर्रगतका प्रयोगशालाले आफ्नो जिल्ला भित्रका नागरिकको विश्वास जित्दै त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा पठाइ त्यहीबाटै सबै परिक्षण गर्न सकिने बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । यसका लागी स्वास्थ्य कार्यालय र प्रयोगशालामा कार्यरत जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । अहिले भएका प्रयोगशालाहरूको अनुगमन गरि तीनको अवस्था सुदृढ गर्न लगाउन पनि उनले प्रदेश प्रयोगशालालाई निर्देशन दिए। कार्यक्रममा स्वास्थ्य सचिव डा। जनार्दन पन्थीले लुम्बिनी प्रदेशलाई स्वास्थ्यको केन्द्र बनाउनलाई प्रयोगशालाको रिर्पोट पनि यथार्थ आउने हुनुपर्ने बताए ।
त्यसका लागी स्थानीय तहमा भएका प्रयोगशाला र जनशक्तिलाई त्यस तर्फ प्रोत्साहित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्न लाग्न आग्रह गरे । प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले स्थानीय तह अन्तर्गतका प्रयोगशाला र जिल्लामा रहेका स्वास्थ्य कार्यालयका प्रयोगशाला बिच समन्वय गरेर त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा ल्याउने व्यवस्था गरिनु पर्नेमा जोड दिए ।
उनले कुनै महामारीको समयमा नमूना संकलन र प्रयोगशाला सम्मको ढुवानीको व्यवस्था पनि प्रदेश प्रयोगशालाले गर्नुपर्नेमा जोड दिए । दुई दिन चल्ने समीक्षा गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गतका १३ अस्पताल, १३ आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरूको सहभागिता रहेको छ । गोष्ठीले प्रयोगशालाले गर्नुपर्ने भावी कार्ययोजना समेत तय गर्ने छ । कार्यक्रमको उद्घाटन सत्र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेश कुमार गुप्ताको अध्यक्षमा भएको थियो ।