तीन दिने अर्गानिक मल र विषादी बनाउने तालिम सुरु

दाङ ।  दंगीशरण गाउँपालिकामा अर्गानिक मल र विषादी बनाउने तालिम  बुधबारदेखि सुरु भएको छ ।  गाउँपालिकाको आयोजना र पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सह आयोजनामा तालिम सुरु भएको हो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीको विशिष्ट आतिथ्यमा  तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले पछिल्लो समय आधुनिक खेतीमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको बताए ।

अत्याधिक मलको प्रयोगले प्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको भन्दै पछिल्लो समय रासायनिक मलका कारण मानिसमा नसर्ने रोगको मात्रा बढेको उनले बताए । आफूले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरेर आफ्ना छिमेकीहरूलाई अर्गानिक खेती गर्न सिकाउन सहभागीहरूलाई आग्रह  गरे ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीले रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गरिरहेको भन्दै अर्गानिक खेती गरेर मानव र पृथ्वीको आयु बढाउन सहभागीहरूलाई आग्रह गरे ।

गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक मान बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गुरुङले गरे ।  ‘अर्गानिक खेती गरौँ, मानव जीवन स्वस्थ बनाउ’ भन्ने नारासहित सुरु भएको तालिममा गाउँपालिकाका सबै वडाका गरि ३५ बढी कृषकहरूको सहभागिता रहेको छ । तालिम मंसिर २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस