प्रादेशिक आयुर्वेद चिकित्सालयमा देश मै पहिलो पटक स्वर्ण बिन्दु प्राशन सेवा

दाङ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङले पछिल्लो समयमा विभिन्न सेवाहरू थप्दै आएको छ । अस्पतालले देश मै पहिलो पटक स्वर्ण बिन्दु प्राशन सेवा दिँदै आएको छ । जन्मेदेखि ५ वर्षसम्मका करिब एक हजार बालबालिकाहरूलाई प्रत्येक महिना निःशुल्क रुपमा यो सेवा दिँदै आएको छ ।यो सेवा लिन बालबालिकाहरूलाई लिएर आउने अभिभावकहरूको उत्साहजनक सहभागिता हुने गर्दछ ।
स्वर्ण बिन्दु प्राशन औषधि अस्पतालले आफै बनाएर जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई गत वर्षदेखि प्रत्येक महिना खुवाउँदै आएको अस्पतालले जनाएको छ । यो औषधि खुवाएपछि बालबालिकामा राम्रो भएको अभिभावकहरू बताउँछन् । यसले बालबालिकाहरूमा खानामा रुचि बढ्ने, तौल बढ्ने र रुघाखोकी जस्ता समस्या नहुने अभिभावक तुलसीपुर १६ की सुशीला चौधरीले बताइन् ।उनका अनुसार अस्पतालले निःशुल्क रुपमा खुवाउँदै आएको स्वर्ण बिन्दु प्राशनले बालबालिकाहरूलाई राम्रो गर्ने कुरा थाहा पाएर खुवाउन थालिएको हो ।
अहिलेसम्म ६ पटक खुवाएको भन्दै उनले यसले धेरै फाइदा गरेको समेत बताइन् । उनले भनिन्,‘ मैले मेरो बाबुलाई यो औषधि खुवाउन थालेको गत असार महिनादेखि हो । अहिले १९ महिनाको भयो । यो खुवाउन थालेपछि खानामा पनि रुचि बढेको छ । तौल पनि बढेको छ । यसले धेरै फाइदा गरेको छ ।’ यस्तै तुलसीपुर १९ बिजौरीकी विना रोकाले १४ महिनादेखि आफ्ना छोरालाई यो औषधि खुवाएको बताइन् ।
उनले भनिन्,‘ पहिला मेरो छोराले खाना खान मान्दैन्थ्यो । यो खुवाउन थालेपछी खानामा पनि रुचि बढेको छ । पहिला कमजोर थियो । अहिले धेरै राम्रो भएको छ । रुघाखोकीले पनि उत्तिकै सताउँथ्यो । अहिले त्यो पनि हटेको छ ।’ शुरुमा के हो रु कसो हो रु भन्ने लागेको भएयता पनि कमजोर बालबालिकाहरूलाई फाइदा गर्ने भन्ने थाहा पाएपछि नियमित खुवाउँदै आएको उनको भनाइ छ ।

बिना र सुशीला मात्र नभइ प्रत्येक महिना यसरी नै अस्पतालमा आफ्ना छोराछोरी लिएर करिब एक हजार अभिभावकहरू यो औषधि खुवाउन आउने गरेका छन् ।यस्तै अस्पतालका बालरोग विशेषज्ञ डा। हरिशंकर चौधरीका अनुसार बालबालिकाहरूलाई प्रत्येक महिनाको पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण बिन्दु प्राशन दिने गरिन्छ । यो स्वर्ण बिन्दु प्राशन बालबालिकाहरूका लागि लाभदायक हुने उनको भनाइ छ ।
उनका अनुसार यसले बालबालिकाहरूको शारीरिक र मानसिक विकास गर्नमा मदत गर्ने र रोगसँग लड्न शक्ति प्रदान गर्दछ । अस्पतालमा यो कार्यक्रम गत बर्षको असोज महिनादेखि शुरु भएको भन्दै शुरुमा ४र ५ सय बालबालिकाहरूले यो सेवा लिएको भएयता पनि अहिले मासिक करिब एक हजार बालबालिकाहरूले खुवाउने गरेको समेत बताए । उनले भने,‘ बच्चाले नियमित रुपमा यो खाएको आएको छ, भने उसको शारीरिक तथा मानसिक, बौद्धिक विकास हुन्छ । बच्चामा रोगसँग लड्नसक्ने क्षमता बढाउँछ । यो औषधि हामीले आफै उत्पादन गर्न गर्दछौँ ।’
उनका अनुसार स्वर्ण बिन्दु प्राशन बनाउन मह, घ्यू, ब्रामी, वचा, जटामसी लगायत १२ प्रकारका औषधिहरू सुनसँग मिसाएर विधिवत रुपमा तयार गरिन्छ । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । यो औषधि जन्मेदेखि १६ वर्षसम्मका बालबालिकाहरूलाई खुवाउन मिल्ने भएयता पनि अहिले अस्पतालले ५ बर्षसम्मलाई मात्र खुवाउने गरेको उनको भनाइ छ । उनले भने,‘ यो १६ बर्षसम्मलाई खुवाउन मिल्छ । तर, ५ वर्षसम्म बालबालिकाहरूलाई यसले धेरै फाइदा हुन्छ । उनीहरूमा शारीरिक, मानसिक, बौद्धिक विकास राम्रोसँग हुन्छ । त्यसैले हामीले ५ बर्षसम्मलाई पनि खुवाउँदै आएको छौँ ।’
यो औषधि तयार गर्दा एक बच्चाको लागि करिब ५० रुपैयाँ जति खर्च लाग्ने अस्पतालको भनाइ छ । अहिलेसम्म अस्पतालले निःशुल्क खुवाउँदै आएको यो सेवा यसप्रति अभिभावकहरू आकर्षण बढ्दै गएको अस्पतालका निमित्त निर्देशक डा। सन्तोष कुमार ठाकुर बताए । उनका अनुसार यो सेवा अब प्रदेश सरकारले आफ्नो कार्यक्रममा राखेर बजेटको व्यवस्था गर्नु पर्छ । त्यसको लागि पहल भइरहेको छ । विगत एक वर्षदेखि देशमै पहिलो पटक यो कार्यक्रम शुरु गरेको समेत उनको भनाइ छ ।
यो औषधि खुवाउन थालेपछि बच्चाहरूमा रोगसँग लड्न सक्ने शक्ति वृद्धि भएको र उनीहरूलाई खानामा रुचि तथा तौल बढेको अनुभुति पाएको समेत उनले बताए । अस्पतालले निःशुल्क रुपमा बालबालिकाहरूलाई यो औषधि खुवाएको भन्दै उनले यसलाई गौरवका रुपमा लिनु पर्ने समेत बताए । यो औषधि बालरोग विशेषज्ञ र औषधि विशेषज्ञको प्रत्यक्ष निगरानीमा अस्पतालमा तयार हुने समेत उनको भनाइ छ । पछिल्लो समय अस्पतालले विभिन्न सेवाहरू बढाउँदै गएपनि सेवा लिने नागरिकहरूको संख्या बढ्दै गएको अस्पतालको भनाइ छ । अहिले अस्पतालमा व्यायामशाला, अग्नि कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायत सेवाहरू रहेका छन् ।