जलेर घाइते भएकी पम्फीलाई नगरप्रमुख खड्काले उपचारका लागि काठमाडौँ पठाए

दाङ । खाना पकाउने क्रममा जलेर घाइते भएकी तुलसीपुर १९ सुंगुरखोलाकी २८ वर्षीय पम्फी पुनलाई उपमहानगरका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाएका छन् । बिहीवार साँझ उनले व्यक्तिगत रुपमा पुनको उपचार गर्नका लागि काठमाडौँ पठाएका हुन् । कार्तिक ९ गते खाना पकाउने क्रममा जल्दा घाइते भएकी पुनलाई उनका श्रीमान कार्तिक १० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । तर, अस्पतालमा डाक्टरहरूले उनको यहाँ उपचार गर्न सम्भव नभएको तत्काल अन्यत्र लैजान सुझाव दिए थिए ।

आर्थिक अभावका कारण बाहिर लैजान सकेका थिएन । उनले भने ,‘ मेरो आर्थिक अवस्था अत्यन्त कमजोर छ । अस्पतालमा उपचार नभएपछि मैले श्रीमतीलाई घर लग्नु पर्ने अवस्था थियो ।’ यस्तै घाइते भएकी श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न बुधबार उनी वडा कार्यालयबाट सिफारिस ल्याएर उपमहानगरको कार्यालयमा आएका थिए । श्रीमती आगोमा जलेर घाइते भएको र तुलसीपुरमा उपचार सम्भव नभएको बाहिर लैजान आर्थिक अभाव भएको कुरा नगर प्रमुख खड्कालाई उनले सुनाएपछि दाङबाट काठमाडौँसम्म पुग्न लागि उपमहानगरबाट निःशुल्क एम्बुलेन्स सेवा सहित व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर उनले काठमाडौँ पठाएको बताए ।

समयमै जानकारी प्राप्त नहुँदा उनलाई उपचारमा सहयोग गर्न नसकिएको समेत उनले बताए । उनका अनुसार पुनको उपचारमा आर्थिक अभावकै कारण समस्या नहोस्, भन्ने उद्देश्यका साथ आर्थिक सङ्कलनको अभियान नै थाल्ने र उपमहानगरले कार्यपालिकाको निर्णय गरेर थप रकम उपलब्ध गराउने छ । यस्तै उनको उपचारको लागि यस क्षेत्रका युवाहरूले समेत सहयोग गरेका छन् ।

बिहीवार मात्रै करिब ३० हजार रकम संकलन गरेर उनका श्रीमानलाई रकम हस्तान्तरण गरिएको युवा सुशील खड्काले बताए । उनका पाँच जना सन्तान रहेका छन् । श्रीमान् बुद्धिराम पुनले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि अनुरोध गरेका छन् । त्यस्तै पुनको उपचारको लागि तुलसीपुर १९ ले पनि आर्थिक सहयोग गरेको वडा सदस्य रामबहादुर पौडेलले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस