अरनिको मैदान अतिक्रम हटाउनमा आँखा चिम्म गरेर डोजर चल्छ : नगरप्रमुख खड्का

दाङ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले अरनिको मैदान अतिक्रम भएको भन्दै त्यहाँ डोजर चल्ने बताए । साझा टाइम्ससँग बुधबार कुराकानी गर्दै नगरप्रमुख खड्काले अरनिको मैदान पुरानो र ऐतिहासिक मैदान भएको भन्दै चारैतिरबाट अतिक्रमण भएको समेत बताए । उनले भने,‘ मानिसहरूले घर बनाउँदै मैदानलाई साँघुरो बनाउँदै गरेको अवस्था रहेको छ ।
मैले वडा नं. ५ का वडाध्यक्षसँग नीतिगत रुपमा निर्णय गरेर अतिक्रमण गरेका घरहरू हटाउनको लागि अनौपचारिक रुपमा छलफल गरेको छु । कुलाको भाग, बाटोको भाग थियो । मैदानलाई साँघुरो बनाउने जुन प्रवृत्ति छ । त्यसलाई आँखा चिम्म गरेर सफा गरौँ भन्ने कुरा भएको छ । उहाँ पनि तपाईँ तयार हुनुहुन्छ, भने म डोजर हान्न तयार छु, भन्नु भएको छ । यो विषयमा म तयार नै छु ।’
यस्तै, उनले मैदानमा शौचालय बनाउनको लागि नगर विकासमा निर्णय भएको समेत बताए । मैदानमा हुने कार्यक्रममा खेलाडीहरूलाई शौचालय नहुँदा समस्या भइरहेको आफूलाई थाहा भएको भएयता पनि विविध कारणले शौचालय बनेको हुँदा अब छिट्टो भन्दा छिट्टो व्यवस्थापन हुने समेत बताए । उनले भने,‘ हामीसँग अहिले दुई वटा विकल्प रहेका छन् । एउटा पुरानो सार्वजनिक शौचालयको ढोका पश्चिमबाट बनाएर सहज बनाउने र अरु नयाँ शौचालयहरूको बनाउने रहेको छ ।’