बबई टि २० कप क्रिकेटको उपाधि गुरुकुल एकेडेमीले चुम्यो

दाङ । पश्चिम दाङको बबई गाउँपालिकामा सञ्चालित बबई टि- २० कप क्रिकेटको उपाधि गुरुकुल एकेडेमी घोराहीले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रिकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा पुरन्धारा च्यालेन्जर्सलाई ४३ रनले पराजित गर्दै गुरुकुलले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ५० हजार कप, मेडल प्रमाणपत्र हात पार्यो । फाइनलमा पराजित पुरन्धारा च्यालेन्जर्स उपविजेतामा सीमित रहँदै नगद २५ हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
टस जित्दै पहिला ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरको खेलमा आफ्नो ८ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । गुरुकुलका लागि राजकुमार शाहले सर्वाधिक ३८ रनको योगदान दिए। त्यस्तै बसिर अहमदले २४, आवाज गौतमले १२ र करण घर्तीमगरले नटआउट १० रन बनाए । बलिङ तर्फ पुरन्धाराका कप्तान मोहन खत्रीले ३ विकेट लिए । त्यस्तै कृष्ण कार्की, सुजल वली, हरिस केसी र सुदीप नेपालीले समान १/ १ विकेट लिए । जबाफी ११४ रनको लक्ष्य पछाएको पुरन्धारा १८.२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ७० रन बनायो ।
पुरन्धाराका लागि सुदीप नेपालीले सर्वाधिक २१ रन बनाए । त्यस्तै बिपिन रावलले १७ रन बनाए । बलिङमा पुरन्धारालाई सस्तैमा रोक्न गुरुकुलका आवाज गौतमले र वीर बहादुर घर्ती मगरले समान ३ / ३ विकेट लिए । त्यस्तै राज कुमार शाह र बसिर अहमदले २/ २ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच आफ्नो अल राउन्ड प्रदर्शनले टिमलाई विजेता बनाउन सहयोग गर्ने आवाज गौतम भए । उनले नगद रुपैयाँ एक हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरन्धाराका कृष्ण कार्की भए । उनले नगद रुपैयाँ आठ हजार प्राप्त गरे । त्यस्तै वेस्ट बलर पुरन्धाराका कप्तान मोहन खत्री, वेस्ट ब्याट्सम्यान गुरुकुलका बसिर अहमद भए । दुबै जनाले नगद पाँच पाँच हजार प्राप्त गरे । त्यस्तै राइजिङ प्लेयर पुरन्धाराका प्रिन्स थापा भए । उनले नगद एक हजार पाँच सय रुपैयाँ हात पारे ।
त्यस्तै प्रतियोगिताको फेयर प्ले अवार्ड टिमको रुपमा घोराही क्रिकेट एकेडेमी रह्यो । ५ दिन सम्म सञ्चालित प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह आयोजक पुरन्धारा क्रिकेट क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीको सभापतित्व तथा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव टोपेन्द्र थापाले गरेका थिए ।