वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

रूकुम पश्चिम । बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताए । प्रधानमन्त्रीले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् । म तपाईलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।’

अर्को प्रसंगमा प्रधानमन्त्रीले भने “संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ । मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो।’ “कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं’ प्रधानमन्त्रीले भने, ‘कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।’

‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु। यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको छ । लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका छन्, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको छ। देशको स्वाधीनता र समृद्धिका लागि कुटनीतिक पहल गरिएको छ।’ अर्को प्रसंगमा प्रचण्डले भने, “विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं। अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं।’

“कर्णालीको विकास मेरो प्राथमिकतामा छ ‘प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको छ । विकास निर्माणका धेरै काम भएका छन् । तर, ती पर्याप्त छैनन् । आगामी दिन रूकुमको विकास उच्च प्राथमिकतामा रहनेछ ।’ कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस