लाओसलाई हराउँदै नेपाल विश्ककपको दोस्रो चरणमा

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त विजयले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ ।

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४(१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए ।

खेलमा पहिलो अट्याकले लाओसले गरेको थियो । १८औं मिनेटमा लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । २२औं मिनेटमा नेपाल गोलको नजिक पुगेको थियो । तर उत्सव राईले एरिक विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । ३९औं मिनेटमा लाओसका चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

४८औं मिनेटमा मनिष डाँगीले सनिश श्रेष्ठको पासमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल थोरैले पोष्ट भन्दा बाहिर गएको थियो । ६५औं मिनेटमा मनिष डाँगीले करिब २५ यार्डबाट हानेको लामो प्रहार लाओसका गोलकिपरले बचाएका थिए । ७२औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीले अग्रता दोब्बर पार्ने अवसर गुमाए । उनले नजिकैबाट प्रहार गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

नेपालका कप्तान किरणले इन्जुरी टाइममा लाओसका काएडाभोन सौभानीको हेडर उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । यसै खेलबाट डिफेण्डर अमृत श्रेष्ठले नेपालका लागि डेब्यु गरेका छन् । पहिलो पटक सिनियर टिममा स्थान बनाएका अमृत इन्जुरी टाइममा फरवार्ड जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । दोस्रो चरणमा ६ खेल खेल्ने अवसर पहिलो चरण पार गरेपछि नेपाली फुटबल टोलीले अब विश्वकप छनोटको दोस्रो चरणमा ६ खेल खेल्न पाउनेछ ।

दोस्रो चरणमा एसियाका शीर्ष २६ वरियतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागि टिमलाई ९ समुहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली हुनेछ । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई-दुई खेल खेल्नेछ ।

दोस्रो चरणमा नेपालको भेट युएई, बहराइन र यमन हुनेछ । तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ ।

यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ र यस बीचमा मैत्रीपूर्ण खेल समेत खेल्ने सम्भावना रहन्छ ।

दोस्रो चरणमा ९ समूहबाट समूह विजेता र उपविजेता हुने दुई दुई गरी कूल १८ टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् र २०२७ को एसियन कपमा पनि सिधै छनोट हुनेछन् । यस्तै दोस्रो चरणमा राम्रो प्रदर्शन गर्न सके विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने र एसियन कपमा ऐतिहासिक छनोट हुने अवसर समेत नेपाललाई हुनेछ । त्यसको लागि भने नेपाली फुटबलले धेरै मिहिनेत गर्नुपर्नेछ र लामो यात्रा तय गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस