प्रदेश अन्तर्गतका पुराना अस्पतालको संगठन र व्यवस्थापन सर्वे गरिने

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्तर्गतका पुराना अस्पतालको पुनः संगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताए । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, बिरामीको चाप लगायतलाई आधार मानेर गरिएको कर्मचारी व्यवस्थापनले अहिलेको चाँपलाई धान्न नसक्ने देखिएकाले पुनः ओ एण्ड एम सर्वे गर्नुपर्ने भएको उनले बताए ।
रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पामा भएको छलफलका क्रममा स्वास्थ्य मन्त्री खनालले तिहार पछि प्राविधिकहरू अस्पतालहरूको संगठन तथा कर्मचारी व्यवस्थापनको काम गर्न अस्पतालहरूमा जाने जानकारी दिए । कतिपय अस्पतालमा सुविधा सम्पन्न अस्पताल भवन र बिरामीको चाँप बढि भएर पनि संगठन संरचना पुरानै भएकाले स्तरोन्नति गर्न पनि समस्या परेको उनको भनाई छ ।
उनले निजी अस्पताल तथा मेडिकलको अनुगमनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयलाई नै दिने गरि काम भैरहेको बताए । स्वास्थ्य मन्त्रालयले संघीयताको मर्म अनुसार काम गरिरहेको भन्दै स्वास्थ्य उनले तल्लो तहलाई अधिकार सम्पन्न गराउन अस्पताल अनुगमन, अस्पतालमा करार जनशक्ति नियुक्ति लगायतका काम सम्बन्धित कार्यालयलाई दिन लागिएको बताए । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले सबैसँगको समन्वय, सहमति र सहकार्यबाट सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।