भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो

CHENNAI, INDIA – OCTOBER 08: Virat Kohli (L) and KL Rahul of India run between the wicket during the ICC Men’s Cricket World Cup India 2023 between India and Australia at MA Chidambaram Stadium on October 08, 2023 in Chennai, India. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ ।  कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शर्माले मात्र ८४ बलमा १३१ बनाएपछि भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा सफलतापूर्वक पछ्यायो ।

खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । उनले सुरुमा डेभिड वार्नरले सबैभन्दा कम पालीमा एकदिवसीय विश्वकपमा १ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बराबरी गरे । दुवै खेलाडीले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् ।

खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान पनि तोडेका छन् । गेलको यसअघि ५५३ रनको कीर्तिमान रहेको थियो । उनले मात्र ६३ बलमा शतक पुरा गरेका थिए । जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो । यसअघि सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए ।

विश्वकपमा उनको सातौँ शतक थियो । योसँगै उनले प्रतियोगितामा सर्वाधिक शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमान पनि भङ्ग गरेका छन् । उनले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् । जबकि सचिनले ४४ पालीमा ६ शतक बनाएका थिए ।

रोहित आउट भएपछि विराट कोहलीले नटआउट रहँदै ५५ रन तथा श्रेयस ऐयरले पनि नटआउट रहँदै २५ रन बनाएर भारतलाई जीतसम्म पुर्‍याए । यसअघि ओपनर ईशान किसन भने ४७ रन बनाएर आउट भएका थिए । शर्मा र किसन दुवैलाई रासिद खानले आफ्नो शिकार बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । टोलीका लागि कप्तान हसमतुल्लाह शाहीदीले सर्वाधिक ८० रन बनाए । उनलाई अज्मतुल्लाह ओमाजारीले ६२ रन बनाउँदै राम्रो साथ दिए ।  भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए । जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जीत हो । पहिलो खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस