एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

काठमाडौं : १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग खेल्दैछ।

नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान पौने ७ मा सुरु हुनेछ। नेपालसँगको खेलसँगै मंगोलिया पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ।

नेपाली टिम आइतबारै चीन पुगिसकेको छ। ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन्। यस्तै अदालतले मुद्दा स्थगित गरेपछि सन्दीप लामिछाने पनि त्यसतर्फ गएका छन्।

समूह एको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ। समूह ए, बी र सीका शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन्।

नेपालको निराशाजनक प्रदर्शन

एसियाडमा नेपालको निराशाजनक प्रदर्शन जारी रहेको छ। चौंथो दिन मंगलबार नेपालले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दा पदकको खाता खोल्न सकेन्।

नेपालले मंगलबार एकलतर्फ स्क्वास, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ, र टेनिस तथा टिम इभेन्ट्समा रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको हो।

रग्बी सेभेन्समा नेपाल जितविहिन हुँदै घर फर्किने भएको छ। यस विधामा पहिलो पटक एसियाडमा प्रतिस्पर्धा गरेको नेपालले समुह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच ९ देखि १३ औं स्थानका लागि भएको सबै खेलमा हार व्यहोर्यो। प्रतियोगितामा नेपाल ६ खेल खेल्दा एक खेल पनि जित्न सकेन। १३ टोली सहभागी प्रतियोगितामा नेपाल पुछारमा रह्यो।

जुडोमा नेपालका रन्जेश गोले र आकृति जोशीले प्रतिस्पर्धा गरे। पुरुष १ सय केजी माथिको तौल समुहको अन्तिम १६ मा रन्जेश काजाकिस्तान र महिला ७८ केजी माथि आकृति उज्वेकिस्तानसँग हारेको हो। यससँगै जुडोमा नेपालका सबै खेलाडीको चुनौती सकिएको छ।

४ महिला र ४ पुरुष गरि ८ खेलाडी सहभागी भएकोमा कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन्। बक्सिङमा पुरुष ५७ केजी मुनि नेपालका बुद्ध ग्याम्जो लामा भियतनामका खेलाडीसँग अंकका आधारमा पराजित भए। पुरुषकै ९२ केजी माथि हेभि वेटमा आशिष दुवाडीले मंगोलियाका खेलाडीसँग पराजित भए।

स्क्वास अन्तर्गत महिला र पुरुष टिम इभेन्ट्समा नेपालले हारबाट प्रतियोगिता सुरु गरेको छ। महिलातर्फ मलेसिया र मकाउसँग हारेको नेपाल पुरुषतर्फ भने कुवेत र पाकिस्तानसँग हारेको हो।

पौडीमा महिला १ सय मिटर फ्रिस्टाइलमा अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिन। तेक्वान्दोको पुरुषतर्फ ६३ केजी मुनि राउण्ड अफ १६ मा गोविन्द बहादुर आले थाइल्याण्डका खेलाडीसँग हारे।

यसअघि पहिलो चरणमा उनले टिमोर लिस्टेका खेलाडीलाई हराएका थिए। महिला ५३ केजी मुनि आयशा लामा दक्षिण कोरिया र ५७ केजी मुनि सन्ध्या कुमारी सिंह लेवनानका खेलाडीसँग हारिन्।

उसुको नानक्वानमा पुरुषतर्फ दीपक हमाल र महिलातर्फ निमा घर्तीमगर फाइनल चरणमा पुगेपनि दीपक १३ औं र निमा आठौं स्थानमा रहे।

टेनिसको मिक्स डबल्समा सुनिरा थापा र प्रनव खनालको जोडी फिलिपिन्ससँग ६–० र ६० ले हारेको छ।

नेपालबाट २९ खेलमा १२७ महिला र १२६ पुरुष गरि २५३ खेलाडीले सहभागिता जनाएका छन्। टिम इभेन्ट्समा मात्र १०५ जना नेपाली खेलाडी सहभागी छन्।

नेपापले सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणदेखि एसियाडमा सहभागी हुँदै आएको छ। फिलिपिन्समा भएको दोस्रो र इण्डोनेसियामा भएको चौंथो संस्करणबाहेक सबैमा सहभागी हुँदा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

७२ वर्षे एसियाडको इतिहासमा नेपालले २ रजत र २२ कास्य सहित कुल २४ पदक जितेको छ।

पदकामा चीनको दबदबा

चीनले पदक तालिकामा आफ्नो दबदबा कायमै राखेको छ। खेलको चौथो दिन सकिँदा चीनले चीनले ५३ स्वर्ण सहित ९५ पदक जितेको छ। उसले २९ रजत र १३ कास्य जितेको छ। र, पदक शीर्ष स्थानमा छ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले १४ स्वर्ण, १६ रजत र १९ वटा कांस्य पदक जितेको छ।

जापानले ८ स्वर्ण, २० रजत र १९ वटा कांस्य पदक जितको छ। उज्वेकिस्तानले ५ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको छ भने हङकङ ५ स्वर्ण,४ रजत र १० कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ।

दक्षिण एसियाली देश भारतले ३ स्वर्ण पदक जतेको छ। ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेको छ। खेलमा सहभागी ४५ देशमध्य एक स्वतन्त्रसहित १४ देशले स्वर्ण प्राप्त गरेका छन्। थाहा खबरबाट

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस