मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं : मालदिभ्सलाई हराउँदै नेपाल साफ यू– १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दरशथ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले मालदिभ्सलाई ४– १ गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै नेपालमा समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनमा प्रवेश गरेको हो। नेपाललाई प्रशान्त लक्ष्मणले अग्रता दिएका थिए।
उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलको ३० औं मिनेटमा समिर तामाङले नेपालका लागि गोल गरे। पहिलो हाफमा नेपालले माल्दिभ्समाथि दबाब बनाएर राख्यो। खेलका दोस्रो हाफमा मालदिभ्स खेलमा फर्किएको थियो। खेलको ५८ औं मिनेटमा मालदिभ्सले गोल गरेको थियो।
खेलको अन्तिम समयमा नेपालले तेस्रो गोल गरेको हो। नेपालका लागि ८८ औं मिनेटमा नेपालका लागि निराजन धामीले गोल गरेका हुन्। नेपालले इन्जुरी समयमा चौथो गोल थपेको हो। नेपालका लागि समीर तामाङले गोल थपेका हुन्। नेपाल रहेको समूह ‘ए’ बाट विजेता बन्दै पाकिस्तान सेमिफाइनमा पुगिसकेको छ।
यसअघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै, समूह ‘बी’ बाट बङ्लादेश बाहिरिसकेको छ। बङ्लादेश दुवै खेलमा पराजित भएको छ। एक– एक खेल जितेका भारत र भुटान सेमिफाइनलमा पुगेका छन्। आजै भारत र भुटानबीच हुने खेलले समूह विजेता र उपविजेता तय हुनेछ।