एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा कँडेल विजयी
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै उनी विजयी भएका हुन । उनले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे । पदाधिकारीमा एक उपसचिव बाहेक अरु सबै पदमा राधाकृष्ण उनकै प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । उनी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन्, भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।
सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कँडेल पक्षका हुन् । भूगोल तर्फ रूपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी भएका छन् ।
महिला उपसचिवमा लिला राना विजयी भएकी छन् । बुढामगर रिजाल प्यानलका हुन् भने बाँकी सबै कँडेल प्यानलका हुन् ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कँडेल प्यानलका हुन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

