अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा छ : महामन्त्री सिंह

दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताए । राष्ट्रिय जनमोर्चा दाङले मङ्गलबार आयोजना दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै महामन्त्री सिंहले यस्तो बताए ।
उनले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारलाई मास्ने गरी प्रतिगमनकारी शक्तिहरू सदन र सडकमा शक्ति केन्द्रित गर्दै राजतन्त्र ब्युँताउने प्रयासमा लागिरहेकाले प्राप्त उपलब्धि गुम्ने खतरामा रहेको बताए । उनले भने ,‘राजतन्त्र पक्षधर शक्तिहरू देखि अहिले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद सम्मले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दै मुलुकको स्वाधीनता सँगै जनताका प्राप्त उपलब्धीलाई मास्ने खेलमा लागेका छन । उनले अहिले सदनमा समेत राजावादी, प्रतिगमनकारी र वैदेशिक शक्तिको योजनामा परिचालित दल वा व्यक्तिहरू हाबी हुँदै गइरहेकाले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताए ।
‘सरकारले भ्रष्टाचारको सवालमा केही गर्ने प्रयास गरिरहे पनि उक्त कदममा ब्रेक लगाउन बाह्य शक्तिकेन्द्रको चलखेल समेत सुरु हुन थालेको छ’, उनले भने,‘ ‘मुलुकको स्वाधीनता, प्राप्त उपलब्धिको रक्षाका लागि वर्तमान सरकारले दरो गरी उभिनुपर्दछ । कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा र प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए ।