बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश महिला तथा पुरुष रग्बीको च्याम्पियन

दाङ ।  बर्दिया जिल्ला लुम्बिनी प्रदेश स्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ । लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुण्डी रङ्गशालामा शनिबार सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२ / १२ अङ्कका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो ।

महिला र पुरुष टिम नै च्याम्पियन भएको बर्दियाले नगद ५० हजार, कप तथा मेडल प्रमाणपत्र हात पार्‍यो । लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिमसँग ४ / ४ अङ्कले पछाडि परेको बाँके  जिल्ला उपविजेता भयो ।त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतीय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दाङ, बाँके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको थियो।  प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका  १७ का अध्यक्ष थलराज परिको प्रमुख आतिथ्य एवं नेपाल रग्बी डेभलपमेन्ट कमिटी मेम्बर ताईसुके मियायोको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा विजेता टिम तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिको हात बाट पुरस्कार प्रदान गरिएको थियो भने आयोजकले प्रतियोगिता भव्य एवं सभ्य रूपले सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस