एसीसी प्रिमियर कप : ११ वर्षपछि नेपाल-कुवेत भिड्दै

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ ।

नेपाली सिनीयर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको नेपालका लागि कुवेत बलियो प्रतिद्वन्द्वी भने होइन। तर समूहको अन्तिम खेलमा कतारसँग खराब ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुनेछ। 

पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो। युएईमा भएको समूह चरणको उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २८० रन जोडेको थियो। नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले शतक प्रहार गर्ने क्रममा १०६ रन जोडेका थिए। पारसको त्यो पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा पूरा भएको थियो। खेलमा ज्ञानेन्द्र मल्लले ५३ रन जोडेका थिए। सो खेल खेलेका ज्ञानेन्द्र मात्र अहिले नेपाली टिममा छन । उनी आजको प्लेइङ-११ मा पर्ने सम्भावना न्यून छ ।

नेपालले दिएको २८१ रनको लक्ष्य कुवेतले ६ विकेटको क्षतिमा पार गरेको थियो। नेपालविरुद्ध कुवेतका तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए। प्रतियोगिताको फाइनलमा नेपालले युएईसँग बराबरी खेल्दै संयुक्त रुपमा ट्रफी उचालेको थियो।

हाल जारी प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। अन्तिम चारमा पुग्न जित हात पार्नु पर्ने खेलमा कुवेतले मुलपानी मैदानमा २७२ रन जोड्यो। जवाफी ब्याटिङ गरेको हङकङ अन्तिम बलमा २४२ रनमा समेटिएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भयो। यसअघि युएईमाथि जित निकालेको हङकङलाई सेमिफाइनल पुग्ने दाबेदार टिम मानिएको थियो। तर कुवेतसँग स्तब्ध भएपछि हङकङ समूह चरणबाटै घर फर्कियो। 

पछिल्ला नौ खेलमा नेपाल अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। साउदी अरेबियाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। पछिल्ला ९ खेल मध्ये नेपालका सात खेल एकदिवसीय मान्यता प्राप्त थिए।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस