नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री

तनहुँ :  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )  का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताए ।  बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं. १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरी नयाँ बजेटको तयारी गरिएको बताए ।  उनले भने , “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरी काम गर्छौ ।”प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँ बासीलाई अपिल समेत गरे ।

उनले भने, “अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौँ’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो । यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौँ । गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो । उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो । यहाँलाई जिताएर पठाउनुस्, तपाईँहरूको मतको उचित सम्मान हुनेछ ।” “मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नति कार्य धीमा गतिमा छ, यसलाई तीव्रता दिन सरकारको तर्फबाट गम्भीर पहल हुनेछ” प्रधानमन्त्रीले भने “जिल्लाका सडकहरू कालोपत्रे गर्न सरकारको गम्भीर ध्यान जानेछ । देवघाटमा सांस्कृतिक विश्वविद्यालयका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।” प्रधानमन्त्रीले निकै ठूलो मेहनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताए ।

उनले भने, “संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरू विरुद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहीँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्ने वाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँवासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।” “अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ । चोरी पैठारी रोक्न निकै मेहेनत गरिएको छ । राजस्व सङ्कलनमा सुधार आएको छ । भ्रष्टाचार र बेथिति रोक्न धेरै मेहेनत गरिएको छ । रेमिट्यान्स बढेको छ । विकट पहाडी जिल्लामा समेत पाठ्यपुस्तक पुगेका छन् । यी सबै कुरा विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्ने अठोटसहित गरिएको छ” प्रधानमन्त्रीले भने ।

मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यससम्बन्धि जारी कार्यविधि खारेज गरेको प्रसङ्गबारे बोल्दै प्रधानमन्त्रीले भने , “हिजोको क्याबिनेटले निकै महत्वपूर्ण निर्णय गरेको छ । त्यो निर्णय धेरै गहिरो छ । त्यसबाट ठूल–ठूला गफ हाक्नेहरूको असली नियत देखिएको छ ।”

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस