हामी अल्पमतमा परेका छैनौँ, प्रमाणित भएमा एक मिनेट सत्तामा बस्दैनौ : मुख्यमन्त्री गिरी

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दाबी गरे । सोमबार दाङको तुलसीपुरमा सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उनले आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको पनि बताए । उनले भने,‘ अल्पमतमा परेको भन्ने कुराको परीक्षण प्रदेश सभामा हुन्छ ।

त्यो अहिले बाँकी रहेको छ । सबै वाइयात कुराहरू हुन् । अल्पमत भन्ने कुरा प्रमाणित भएको छैन् । प्रमाणित भइसकेपछि हामीहरू एक मिनेट पनि सत्तामा रहँदैनौं ।’ यस्तै उनले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताए ।

उनले विश्वासको मत लिने समय अझै रहेको भन्दै त्यो समयभित्र लिने पनि प्रस्ट पारे । यस्तै उनले आफूहरूको दाबी अब संविधानको धारा १६८ को  ३ अनुसार जानु पर्छ, भन्ने दाबी रहेको पनि बताए । उनले भने,‘ प्रदेश प्रमुख कसरी जानुहुन्छ, भन्ने कुरा हो । तर, हाम्रो दाबी धारा १६८ को ३ अनुसार जानु पर्छ, भन्ने हो । अहिले १६८ को  २  मा बनेको यो सरकार हो । ’ अहिलेको सरकार असफल भएर अविश्वासको अवस्थामा पुगेको अवस्थामा धारा ३ अनुसार प्रदेश सभाबाट म्यान्डेट पाउनु पर्ने आफूहरूलाई लागेको पनि उनले बताए ।

यस्तै उनले प्रदेशको ठुलो पार्टी को छ, भन्ने कुरामा भन्दा पनि धारा १६८ को ३ अनुसार जानु पर्ने आफ्नो धारणा रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस