प्रधानमन्त्री थ्री नेसन्स कप : घरेलु टोली नेपालले जित्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए। दुवै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए।

खेलको चौथो मिनेटमा लाओसका वौनफाचन वौनकौङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो। १५ औं मिनेटमा वौनफाचनको फ्रिकिक रोहित चन्दले हेड गरेर क्लियर गरे। १८ औं मिनेटमा वौनफाचनकै प्रहार नेपालका कप्तानसमेत रहेका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट जोगाए।

२२ औं मिनेटमा नेपालका नवीन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हाफ भलि लाओसका सासाभाथले गोल हुन दिएनन्। २६ औं मिनेटमा नेपालका नवीनको फ्रिकिकमा आयुषले गरेको प्रहार पनि सासाभाथले जोगाए।  

५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दिपक सिंह ठकुरीबीच तालमेल नमिल्दा लाओसका गोलकिपरले सहजै बल नियन्त्रणमा लिए। ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडर लाओसका माइकल भाङलाई लाग्दै गोल हुनबाट जोगियो।

६१ औं मिनेटमा नेपालका आयुष घलानले गोल गर्ने मौका खेर फाले। नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषले गरेको हेड पोस्टमाथिबाट बाहिरिएको थियो। ६८ औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट नेपालका निशान खड्काको फ्रिकिक गोलपोस्टको बारमा लागेर फर्कियो।

७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अन्जन विष्टले प्रहार गरेका थिए । विष्टको प्रहार लाओसका गोलकिपर सासाभाथले रोक्दा भएको रिबाउन्डमा मनिष डाँगीले गोल गरे पनि उनी अफसाइड भएकाले रेफ्रीले गोलको मान्यता दिएनन्। 

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्स कपको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई पराजित गर्दे नेपाल विजेता बनेको थियो।

नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन्। प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन्। साभार

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस