नयाँ प्रशिक्षकको आगमनले क्रिकेटमा देखिएको बदलाव

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तरतगत अन्तिम त्रिदेशीय सिरिज अन्तरगत सोमबारको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध शानकार जित दर्ता गर्यो । पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७ दशमलव ४ ओभरमै पूरा गर्न सफल भयो । लक्ष्य पक्ष्याउने क्रममा नेपालका आसिफ शेखले अन्तिम बलमा छक्का प्रहार गर्दै आफ्नो खातामा ५३ रनसहित अर्धसतकीय पारी पूरा गरे भने ९६ रन चाहिएको नेपालाई १०० रन पुर्याएरखेल समाप्त गरिदिए ।

लिग-२ अन्तरगत नेपालले अब एक खेल मात्रै खेल्न बाँकी छ । त्रिदिवसीय सिरिज अन्तरगत विहिबार हुने अन्तिम खेलमा युएईलाई हराउन सके नेपाल शीर्ष ३ मा पर्दै सोझै विश्वकप छनोट खेल्न पाउने छ । नयाँ प्रशिक्षकको आगमन र स्टार क्रिकेटर सन्दिप लामिछाने टिममा समावेश भएसँगै नेपालले खेलमा एकाएक पुनरागमन गरेको छ । खेलाडीहरुको प्रदर्शन एकाएक फेरिएको छ। नेपाल क्रिकेट विश्वकप लिग–२ को नाजुक अवस्थामा थियो। तर, नयाँ प्रशिक्षक र स्टार बलर टिममा फर्किएसँगै नेपाली क्रिकेट टिमको प्रदर्शन नै फेरियो।

पछिल्ला ८ खेलमा एकमात्र जित हात पार्न सकेपछि नेपाल लिग–२ बाट घटुवा हुने खतरामा पुगेको थियो। यसले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नै जोखिमम पुर्याएको थियो। तीन सातापछि नेपालको स्थिति फेरियो। ११ मध्ये १० खेल जितेपछि नेपाल अब शीर्ष ३ मा पर्ने दाउमा छ । सोमबारको खेल जित्नुअघि नै आगामी ४ वर्षका लागि नेपालले ओडिआई मान्यतालाई कायम राखेको छ । आइतबारको खेलमा मलेसियालाई ७१ रनमा अलआउट गर्दै १७७ रनको किर्तिमानी जित दर्ता गरेको नेपाल उच्च मनोबलका साथ अघि बढेको छ । सोही अनुसार सोमबारको खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई कायम नै राख्यो ।

आइसिसी पुरुष विश्वकप आगामी वर्ष आयोजना हुँदैछ । सो विश्वकपमा १६ राष्ट्रले सहभागिता जनाउनेछन् । टेष्ट मान्यता प्राप्त देशहरू सिधै विश्वकप पुग्नेछन् भने अन्यले ग्लोबल क्वालिफायर्स पार गर्नुपर्ने हुन्छ । जारी सिरिजको अन्तिम म्याचले नेपाललाई जिम्बाबेमा आयोजना हुने सो छनोट प्रतियोगितामा पुर्याउनेछ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्न सके विश्वकपको ढोका खुल्नेछ र नेपालले वर्षौंदेखि देखेको सपना साकार हुनेछ ।

पछिल्ला तीन सिरिजअघिसम्म नेपाल लिग २ मा संघर्ष गरिरहेको थियो । लिगका २४ म्याच खेलिसक्दा नेपालसँग जम्मा १८ अंक थियो र नेपाल पुछारबाट दोस्रोमा थियो । नेपाल सामु बाँकी १२ खेलमा राम्रो नतिजा ल्याई एकदिवसीय मान्यता कायम राख्नु सबैभन्दा ठूलो चुनौती थियो । त्यो चुनौती पार लगाउन निकै मुस्किल देखिन्थ्यो । किनभने, बाँकी १२ मध्ये नेपालले लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको नामिबियासँग दुई/दुई गरी चार म्याच खेल्न बाँकी थियो । युएई र पपुवा न्युगिनीसँग चार/चार गरी आठ खेल बाँकी थियो । यी चारमध्ये तीन राष्ट्र स्कटल्यान्ड, नामिबिया र युएईबाट जित निकाल्नु निकै मुस्किल थियो ।

अर्कोतर्फ, पारस खड्काले क्रिकेटबाट सन्यास लिएपछि एकपछि अर्को गर्दै नेपाली क्रिकेटमा समस्या देखियो । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडी बीचको मनमुटाव छताछुल्ल भयो । प्रशिक्षकको अन्यौल, पटकपटक कप्तान परिवर्तन, टिमभित्र देखिएको गुटबन्दीजस्ता कारणले खेलाडी र समर्थक निराश देखिन्थे । विश्वस्तरीय स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेपछि पनि परिणाम सोचेजस्तो आउन सकेन ।

सन्दीपपछि टिमको कमान रोहितकुमार पौडेलको हातमा आयो । उमेर र राष्ट्रिय टिमको अनुभवमा टिमका अरु थुप्रै खेलाडीभन्दा पछि रहेका रोहितले नेपालका सामु रहेको ओडिआई मान्यता कायम राख्ने चुनौती पार लगाउने आशा धेरै कममा थियो । तर, ती तमाम आशंकाहरू अहिले गलत सावित भइसकेका छन् ।

प्रशिक्षकमा मोन्टी देसाइको आगमनपछि धेरै असम्भव लागेका लक्ष्य पूरा भएका छन् । तीन सिरिजअघि र अहिले यी खेलाडीको प्रदर्शनमा आकाश जमिनको अन्तर देखिएको छ । विकेट लिन मात्र होइन, ठूलो स्कोर खडा गर्न पनि नेपाली क्रिकेटर सक्षम देखिएका छन् । ओपनिङ जोडी टिके टिम केही परसम्म जाने र सुरुवातमै ढले केही ओभरभित्रै अलआउट हुने परम्परा तोडिएको छ । टिममा हरेकले आ-आफ्नो भूमिका बखुबी निभाइरहेका छन् । हरेकको ब्याटबाट रन बनिरहेको छ ।

ओपनिङमा आसिफ सेखले आफूलाई पटकपटक अब्बल सावित गरेका छन् । अर्का ओपनर कुशल भुर्तेलले पावर प्लेको सदुपयोग गर्न मात्र होइन, आफ्नो इनिङलाई माइलस्टोनसम्म पुर्याउन सक्ने क्षमता देखाइसकेका छन् । मध्यक्रममा ज्ञानेन्द्रको ब्याटबाट रन नबन्दा पनि भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ सेखले टिमलाई संकटबाट मुक्त गर्ने सामर्थ्य देखाएका छन् ।

करण केसी, सन्दीप लामिछानेसमेत आवश्यक पर्दा टिकेर साझेदारी गरिरहेका छन् र तीव्र गतिमा रन बनाउनुपर्दा ठूला सट खेलिरहेका छन् । सबभन्दा सुखद कुरा त, कप्तानको भूमिकामा रहेका रोहितले पटकपटक टिमलाई ब्याटिङबाट सम्हालेका छन् । टस जितेपछिको निर्णय र बलरहरूको प्रयोगमा अब्बल सावित गरेर आफूलाई कुशल कप्तानको श्रेणीमा उभ्याएका छन् ।

यसैगरी, बलिङमा पनि टिमका सबैले उत्तिकै योगदान दिएका छन् । वर्ल्डक्लास स्पिनर सन्दीप जबरजस्त फर्ममा छन् । उनी व्यक्तिगत रूपमा सबैभन्दा चाँडो एक सय विकेट लिने बलरको कीर्तिमान बनाउने संघारमा छन् । ४० खेलमा ९८ विकेट लिइसकेका सन्दीपले युएईसँगको जारी सिरिजको अन्तिम खेलमा दुई विकेट लिए उनले यो कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् । अफगानिस्तानका रसिद खानले ४४ म्याचबाट सर्वाधिक सय विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपसाम ४१ म्याचमै रसिदलाई उछिन्ने मौका छ ।

ललितनारायण राजवंशीका रूपमा नेपालले अर्थोडक्स पाएको छ । सोमपाल कामी र करण केसीले मात्र होइन, विपक्षी ब्याटरलाई धरासायी बनाउने भूमिका कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीले पनि पटकपटक निभाएका छन् । फिल्डिङमा पनि नेपाली टिमले लोभलाग्दो प्रदर्शन गरिरहेको छ । दीपेन्द्र र भीमले फिल्डिङमा ज्यान भरेका छन् । भीमलाई नेपाली टिमका जोन्टी रोट भन्न थालिएको छ । फिल्डमा दीपेन्द्रका मुभ निकै लोभलाग्दो देखिएको छ । यसरी तीनै क्षेत्रमा नेपाली टिमले आफूलाई अलग्गै स्तरमा प्रमाणित गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस