दुर्व्यसन नियन्त्रणमा परिवारको मुख्य भूमिका

दाङ । घोराही उपमहानगरपालिका राम प्रसाद न्यौपाने तुलसीपुर उपमहानगरपालिका १९ हाडिमे दाङमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्र अर्थात लागू पदार्थ दुव्र्यसन परामर्श तथा उपचार केन्द्रमा ५ वर्षदेखि काम गर्दै आएका छन् । उनी पनि विद्यालय पढ्दै गर्दा लागूऔषध दुव्र्यसनीमा फसेपछि नयाँ पाइलामा कुलतबाट मुक्त हुन २०७४ सालमो आएका थिए । शुरुमा उनले विद्यालय पढ्दै गर्दा साथी भाइको सङ्गतले चुरोट खान सिकेको भन्दै पछि लागू पदार्थ दुव्र्यसनमा फसेको बताए ।

उनले भने, ‘शुरुमा अरुले चुरोट खाएको देख्दा किन खान्छन् । के को लागि खान्छन्, भनेर मैले पनि खान शुरु गरे । त्यसपछि यसको स्टेपहरु बढ्दै गयो । साथीसंगतहरुको महौल र खाएपछि आनन्द लिनको लागि खाँदै गर्दा कुलतमा फसेको थाहा पाइएन । घरबाट खाजा खानेको लागि ५० रुपैयाँ दिए, २० रुपैयाँको खाजा खाने १० रुपैयाँको गुट्खा , २० रुपैयाँको चुरोट खाइन्थ्यो ।’ उनका अनुसार सुधार गृहमा आएपछि लागू पदार्थहरू खान नपाएर छटपट्टि लाग्ने, निन्दा नलाग्ने, दिमागले काम नगर्ने, शरिरमा केही नपुगेको जस्तो हुने समस्या हुने गर्दथ्यो । त्यसपछि यहाँबाट उपचार तथा परामर्श लिँदै गएपछि विस्तारै सबै लतहरु छुट्टै गएको पनि उनको भनाइ छ ।

उनले आफू यस कुलतबाट मुक्त भएर नयाँ जीवन पाएको भन्दै अहिले समाजमा आफ्नो छुट्टै पहिचान भएको पनि उल्लेख गरे । उनले भने, ‘५ यहाँ बस्न लागेको ५ वर्ष भयो । तर, अझै नबुझ्नेहरूले मलाई सुधार केन्द्रमा बस्छ, भन्ने गर्दछन् । तर, म हिजो दिनमा त्यो दलदलमा थिए । त्यसबाट अहिले म मुक्त भए । तर, आजको दिनमा यो समस्या प्रत्येक घरघरमा रहेको छ । तर, आज मैलै सुधार केन्द्रमा आउने ब्यक्तिहरूलाई यसबाट मुक्त हुन ज्ञान दिन पाएको छु । यस्तै उनले सुधार केन्द्रमा बसेर दुव्र्यसनीमा बिग्रेका ब्यक्तिहरूलाई सुधार्न मौका पाउँदा निकै खुशी लाग्ने पनि बताए ।

नयाँ पाइलाका कारण आफ्नो घरपरिवारले गरेको मेहनतको कदर गर्न पाएको भन्दै हिजो दिनमा घरपरिवार तथा समाजबाट हेर्ने दृष्टिकोण र आजको दिनमा हेर्ने दृष्टिकोण पनि फरक पाएको र सबैले साथ र सहयोग दिएको पनि उनको भनाइ थियो । यस्तै उनले आफ्नो छोराछोरीहरू कुन अवस्थामा छ, के गर्दै छ, भन्ने कुरामा सबैभन्दा पहिला अभिभावकले ध्यान दिनुपर्ने पनि उल्लेख गरे । पछिल्लो समय लागू औषधमा फस्नुको मुख्य कारण अनुभव गर्छु, भन्दै गर्दा फस्ने गरेको भन्दै उनले अभिभावकले आफ्ना छोराछोरीलाई पैसा दिँदा के कारणले मागेका छन् । मेरो सन्तानले के गरिरहेका छन्, जस्ता कुराहरूलाई गम्भिर रुपमा लिएपछि यसबाट बच्न र बचाउन सकिने पनि बताए ।

यस्तै दाङ लमही नगरपालिकाका युवराज डाँगी पनि अहिले करिब डेढ वर्षदेखि नयाँ पाइलामा स्वयंसेवककै रुपमा काम आएका छन् । उनी पनि कक्षा ४ मा पढ्दादेखि नै चुरोट खान शुरु गरेका थिए । उनी पूर्णरुपमा दुव्र्यसनीमा १५ वर्षको उमेरमा फसेका थिए । उनले पनि आफू शुरुमा फस्दा अरुको खाएको देखेका कारण नै खान शुरु गरेको बताए । उनले भने,‘ अरुले चुरोट खाएको देख्दा मलाई पनि चुरोट खाए कस्तो हुन्छ ? भन्ने लागेर खान शुरु गरे । विस्तारै यसको लत बस्दै गयो । शुरुमा दिनमा एउटा मात्र खाने गरेको थिए । त्यसपछि दिनमा दुई पटक, तिन पटक हुँदै आफू कुने बेला फ्रि भइन्छ । त्यसपछि खाइहाल्ने अवस्था पुगे । त्यसपछि चुरोटको लतले नपुगेपछि गाँजा, चरेस, ब्राउन सुगरसमेत खाने गरेको थिए ।’

उनले आफू त्यो लतबाट मुक्त भएर नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘विगतका ति दिनहरूलाई सम्झदैँ अहिले पनि शारीरिक, मानसिक र सामाजिक कुरामा पनि धेरै फरक पाएको छु । म कुलतमा पस्दा गाउँ समाज पनि हेर्ने दृष्टि पनि फरक थियौँ । मसँग साथीभाइलाई हिड्न समेत उनीहरूको परिवारले रोक लगाउँथे । मेरो कारणले परिवारलाई पनि दुख भएको थियो । तर, आज धेरै कुरामा परिवर्तन भएको छ । सबैबाट माया र साथ पाएको छु । धेरै खुशी लागेको छ ।’

यस्तै उनले सुधार केन्द्रमा बसेका ब्यक्तिहरूलाई अहिले पनि समाजले नराम्रो दृष्टिले हेर्ने गरेको गुनासो गरे । उनले भने, ‘सुधार केन्द्र भन्ने वित्तिकै त्यहाँ बस्ने मान्छेहरूको सिङ्ग वा पुच्छर निक्लिन्छ । त्यहाँ बिग्रेका मान्छेहरू मात्र बस्छन्, भन्ने हाम्रो समाजको त्यो असर परेको छ । तर, सुधार केन्द्रमा त्यस्तो कुरा हुँदैन ।’

उनले सुधार केन्द्रमा पाएको उपचार तथा परामर्शका कारण अब त्यो बाटोमा कहिँले नलाग्ने र आफ्नो भविष्यको लागि काम गर्ने पनि बताए । उनले भने, ‘आफ्नो छोराछोरीहरूले के कस्ता कार्य गरिरहेका छन्, त्यसको बारेमा नजिकबाट बुझिरहनु पर्छ । छोराछोरीसँग बुबाआमा पनि नजिक हुनुपर्छ । जसले गर्दा उनीहरूले अभिभावक भन्दा साथी जस्तै कुरा गरेर आफ्ना मनका कुरा सबै भन्न सकुन् । आज मेरो साथीले यस्तो भन्यो, उसले यस्तो ग¥र्याे, भन्ने कुरा सजिलै बुवा आमालाई भन्न सकेमा उनीहरु बानी पनि थाहा हुन्छ । बुवा आमाको डरले उनीहरूले केही कुराहरू गर्न सक्दैनन्, भने उनीहरूको कुरा थाहा हुँदैन । जसले गर्दा उनीहरूले गरेका क्रियाकलाप थाहा पाउन सकिदैन ।’

यस्तै छोरोछोरी घरबाट कापी, कलम किन्नको लागि एक सय रुपैयाँ मागेर लगेमा उसले साँझ कापी, कलम किनेर ल्याउँछ की ल्याउँदैन, भन्ने कुरामा पनि अभिभावकले ध्यान दिनु पर्ने उनको भनाइ छ । उनले आफ्नो छोराछोरीको जीवन लाइफमा फरक पाएमा वा कहिँ कतैबाट पैसा ल्याएको खण्डमा पनि त्यसको सोधीखोजी गर्नु पर्ने बताए । उनले भने, ‘परिवारले आफ्ना छोराछोरी कुलतमा फसेर अन्तिम अवस्थामा पुगेको थाहा पाउँछन् ।

त्यस्तै साविक राप्तीको सबैभन्दा पहिलो संस्था तुलसीपुर १९ हाडिमे दाङमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्र अर्थात लागू पदार्थ दुव्र्यसन परामर्श तथा उपचार केन्द्रले स्थापना भएदेखि हालसम्म १३ सय बढि ब्यक्तिहरूलाई दुव्र्यसनीबाट मुक्त गराएर नयाँ जीवन दिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए । २०७१ साल माघ २१ देखि सञ्चालनमा आएको सुधार केन्द्रले दाङलगायत विभिन्न जिल्लामा १३ सय ब्यक्तिलाई कुलतबाट मुक्त बनाएको र करिब ३० हजार परिवारहरूलाई व्यक्तिगत रुमा लागू औषधको बारेमा काउन्सिलिङ दिएको उनले बताए ।

यस्तै आफूले कुलतबाट मुक्त गराएका मध्य केही ब्यक्तिहरू फेरि कुलतमा फस्ने गरेको भएयता पनि ८० प्रतिशत ब्यक्तिहरू परिवारले सहकार्य गरे समाजमा स्थापित भएको पनि बताए । यस्तै उनले लागू औषध नियन्त्रण गर्नको लागि परिवारको मुख्य भूमिका हुने पनि उल्लेख गरे । यहाँबाट मुक्त भएर केही ब्यक्तिहरू लागू औषध दुव्र्यसनीमा फसेको र केही कारागारमा समेत रहेको र केहीको निधन भइसेकेको उनको भनाइ थियो ।

उनले भने, ‘जबसम्म परिवारले उनीहरूको हाउभाउ कस्तो छ, के गरिरहेका छन् । कुराहरूमा ध्यान दिँदैनन् । तबसम्म आफ्नो जस्ता संस्था, प्रहरी, राष्ट्रले यसलाई रोक्न सक्दैनन् । हामीले जोखिम न्यूनिकरण गर्न हो रुपरिवारलाई यसको बारेमा बुझाउने हो । तर, यसको बारेमा परिवार बुझ्न मान्दैनन् । लागू औषध दुव्र्यसनीको बारेमा सचेतना मूलक कार्यक्रम गर्दा परिवारको उपस्थित कम हुन्छ । यदि हुन खोजेमा पहिलो भत्ता कति आउँछन्, भन्छन् ।’ उनले परिवारलाई बुझाउन धेरै गाह्रो हुने र जब परिवारले लागू औषधका बारेमा बुझेका हुन्छन् । उनीहरूले धेरै कुराहरू गुमाइसकेको अवस्था हुने पनि बताए ।

जिल्लामा लागू पदार्थको सेवनको अवस्था ब्यापक
जिल्लामा प्रहरीले लागूऔषध दुव्र्यसनीबाट बच्नको लागि विभिन्न खालको अभियानहरू सञ्चालन गरेको भएयता पनि लागू औषध सेवन गर्नेको अवस्था ब्यापक रहेको पाइन्छ । यस्तै तुलसीपुरमा पनि लागू औषधको सेवन गर्ने व्यापक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए । चालु आर्थिक वर्षमा तुलसीपुरबाट मात्रै लागू औषध प्रयोग तथा बेचबिखनमा ११ वटा मुद्दा दर्ता भएको र १७ जना पक्राउ परेको पनि उनले बताए । विशेष गरी युवाहरू लागू औषधको कुलतमा फसेको देखिने गरेको पनि उनको भनाइ छ ।

पक्राउ परेकाहरू मध्य धेरै प्रयोग कर्ताहरू रहेको र केही बेच्ने ब्यक्तिहरू रहेको पनि उनले बताए । यस्तै उनले डिलर कै रुपमा लागू औषध बिक्री वितरण गर्नलाई अहिलेसम्म आफूले फेला नपारेको पनि बताए । उनले भने,‘ केही दिन अगाडि मात्र हामीले लागू औषधका बारेमा कुकुर सहित सर्च अभियान गरेका थियो । हामीले ५ ग्राम ब्राउन सुगरसहित एक पुरुष र ७ किलो गाँजासहित महिलालाई पक्राउ गरेका थियौँ । तर, उहाँहरु दुबै जनाले आफूले मात्र खान नभइ बेच्नको लागि ल्याउनु भएको थियो । ५ ग्राम ब्राउन सुगरले करिब ६० जनालाई खान पुग्छ । त्यसैले उनीहरूले आफूले पनि खाने र पैसा पनि आम्दानी गर्ने लक्ष्यका साथ ल्याएका हुन सक्छन् ।’

यस्तै उनले केही सुधार केन्द्रमा बसेर आएका ब्यक्तिहरू पनि फेरि लागू औषधको कुलतमा फसेको भेटिएपछि उनीहरूलाई पक्राउ गरि कानुनी कारबाही अगाडि बढाएको पनि बताए । यस्तै उनले लागू औषध न्यूनिकरण गर्नको लागि प्रहरी एक्लैले मात्र नहुने भएकाले परिवार तथा समाजको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । उनले भने, ‘हामीले न्यूनिकरण गर्नको लागि विद्यालय, कलेज तथा समाजमा सचेतना मूलक कार्यक्रमहरू मात्र नभइ कुकुरसहितको सर्च पनि चलाउँदै आएका छौँ । गाडीमा अडियो सूचना बनाएर बजाउँदै आएका छौँ । तर, हामीले यसरी काम गर्दै आएको भएयता पनि त्यो कुरामा परिवार तथा समाजबाट पूर्णरुपमा साथ पाएका छैनौँ । जसले गर्दा पनि यसलाई नियन्त्रण गर्न समस्या भइरहेको छ ।’

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस