दोश्रो हिरा डाँगी स्मृति कप फुटबल : टरिगाउँ युवा क्लब फाइनलमा प्रवेश

दाङ । टरिगाउँ युवा क्लब तुलसीपुर १२ तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित प्रतियोगिताको शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफएलाई ट्राइबेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सम्म ३ –३ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको हो । यसैबीच प्रतियोगिता अन्तरगत आइतबार हुने अन्तिम सेमिफाइनलमा लखनउको सहारा फुटबल क्लब र ज्ञानज्योति इनोभेटिभ तुलसीपुर भिड्ने छ ।
खेल दिउँसो ३ बजे हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्ने छ ।
त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।