दाङमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदै

दाङ । जिल्लामा फेरि १३ औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्लाका आम नागरिकले हात्तीपाइले विरुद्धको औषधी सेवन नगर्दा १३ औँ चरणको अभियान फागुन ११ गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान कार्यक्रमका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।औषधी सेवन सुरु गरेको ६ वर्षमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनले यसको सङ्क्रमणको जोखिम हट्ने भए पनि जिल्लामा सबैले औषधी नखाँदा १३ औँ चरणमा खुवाउन लागेको उनको भनाइ छ ।  

उनका अनुसार जिल्लाका  दश वटा स्थानीय तहमा  हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए  )  अभियान सुरु हुने छ ।  यस्तै आइतबार बंगलाचुली गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए ) अभियान कार्यक्रम सञ्चालन सम्बन्धी स्थानीय तह स्तरीय योजना तथा बहु निकाय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान सफल पार्न आफूहरू पूर्णरुपमा लागि पर्ने बताए  ।

उनले  आम नागरिकको स्वास्थ्यमा गाउँपालिका संवेदनशिल रहेको र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गरे । यस्तै  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई नतिजा देखिनेगरी सञ्चालन गरिने बताए । उनले  गाउँपालिका सबै स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँमा नतिजा आउने गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानमा सहभागी गराउन अनुरोध गरे ।  

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर २ का अध्यक्ष मैते पुन, स्वास्थ्यका लागि सक्षम प्रणालीका शशिदेव शाह लगायतले बोलेका थिए ।  गाउँपालिका स्वास्थ्य शाखाका दिलबहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख इन्द्रा कुमारी घर्ती मगरले गरेकी थिइन् ।  कार्यक्रममा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, विभिन्न शाखाका शाखाप्रमुख लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकामा ३ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । वडा नं. ६ मा एक जना पुरुष तथा २ जना महिलामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । गाउँपालिकामा यस वर्ष २३ हजार ४ सय ५८ जनालाई हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस