प्रथम दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

दाङ । प्रथम दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि नारायणपुरमा सुरु भएको छ । नारायणपुर तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका १० का वडाध्यक्ष दीपक पाण्डेले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष पाण्डेले खेल पूर्वाधार विकास बिना सिङ्गो खेलकुदको विकास असम्भव भएको बताए ।
राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्दै उनले स्थानीय सरकारको यसतर्फ ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले वडाका तर्फबाट खेलकुदका भौतिक पूर्वाधार निर्माण र खेल गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष विमल रिजालले मानव जीवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको विकास र बिस्तारका लागि स्थानीय स्तरबाट लाग्नु पर्ने बताए । ‘ अब राज्यको मुख ताकेर नबसौँ दरिलो आट र इच्छा शक्ति लिएर अग्रसर खेलकुदको विकासमा जुटौं अनि मात्र विकासले सार्थकता पाउने छ,‘ उनले भने ।
जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धूर्व आचार्यले स्वस्थ जीवन शैलीका लागि खेलकुद महत्त्वपूर्ण भएको बताए । साथै उनले अनुशासनको उच्च आदर्शलाई आत्मसाथ गर्दै खेल खेल्न खेलाडीलाई आग्रह गरे । नारायणपुर डोजाङका प्रमुख तिलक झाक्री मगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतियोगिता सञ्चालन समितिका सदस्य प्रमोद चौधरीको स्वागत रहेको कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरे । शनिवार सम्म चल्ने प्रतियोगितामा जिल्लाका डोजाङका झण्डै १ सय पचास बढी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको गेरोगी पुरुष तर्फ १० र महिला तर्फ ८ तौल समूह तथा महिला पुरुष सिनियर जुनियर पुम्सेमा कडा प्रतिस्पर्धा हुनेछ ।