जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा फुटसल सुरु

दाङ ।  जिल्ला अन्तर विद्यालय  स्तरीय छात्र छात्रा फुटसल प्रतियोगिता २०७९ शुक्रबारदेखि तुलसीपुरमा सुरु भएको छ । नेशनल प्याब्सन तुलसीपुर नगरको आयोजनमा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले सिङ्गो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताए ।  उनले स्वस्थ जीवन शैलीका लागि खेलकुद आजको आवश्यकता भन्दै  अन्तराष्ट्रिय स्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै भएको बताए । 

साथै उनले यसको उच्च आदर्श लाई सबैले आत्मसाथ गर्नसके खेलकुदको विकासले उचाइ लिने बताए ।  नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीका उपाध्यक्ष सुमन केसीको स्वागत रहेको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेशनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्प राज मल्ल, नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, जिल्ला अध्यक्ष विमल गौतम, जिल्ला सचिव ठाकुर प्रसाद डाँगी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक, रिपोर्टस् नेपाल दाङका अध्यक्ष शरद रेग्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन तुलसीपुर नगर सचिव मेघ राज पोख्रेलले गरेका थिए ।  यसैबीच प्रतियोगिता अन्तरगत पहिलो दिन सम्पन्न पहिलो चरणको खेलमा छात्र तर्फको खेलमा ज्ञान ज्योति तुलसीपुर, मिडवेस्ट प्वाइन्ट अकाडेमी  खैरेनी, शिखा बोर्डिङ स्कुल तुलसीपुर, लक्ष्य अकाडेमी तुलसीपुर, बाल सहारा तुलसीपुरले बिजयी यात्रा सुरु गरेका छन । प्रतियोगिता माघ ८ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस