मुख्यमन्त्रीद्वारा स्थायी राजधानीमा बनेका संरचनाको अवलोकन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी भालुवाङमा बनेका संरचनाको अवलोकन गरेका छन् । बुधबार मुख्यमन्त्री कार्यालय तथा आवास निर्माण स्थल, प्रमुख सचिवको आवास, प्रदेशसभा भवनलगायतका संरचनाको अवलोकन गरेका हुन् । भालुवाङमा मुख्यमन्त्रीको कार्यालय, आवास, प्रमुख सचिबको आवास, प्रदेशसभा भवन निर्माण भइसकेको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिना अघि सरस्वति माविमा स्तान्तरण भएपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना तयार गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिईओ छविराज पोखरेलले बताए ।

२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

प्राधिकरणका इञ्जिनियर विष्णु केसीका अनुसार प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा छ । प्रदेशसभा भवन निर्माणका लागि १ अर्व २० करोड बजेट थियो । वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।

स्थायी राजधानी तोकिए पनि अहिलेसम्म भालुवाङबाट कामकाज हुन सकेको छैन । ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरेपनि काम भने बुटवलबाट हुँदै आएको छ । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ ।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक वर्ष भित्र स्थायी मुकामबाट काम सुरु भनिएको थियो । तर, अहिलेसम्म पनि स्थायी राजधानी सार्न सकिएको छैन ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस