नवौं राष्ट्रिय खेलकुदको उपाधि नेपाली सेनालाई

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । १ सय ७२ स्वर्ण पदकसहित विभागिय टीम त्रिभुवन आर्मी क्लब (नेपाली सेना)ले उपाधि कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो । यस्तै, ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो भएको छ भने ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ ।
घरेलु मैदानमा सम्पूर्ण प्रतिस्पर्धीबीच चौंथो बनेको गण्डकी प्रदेशहरूमध्ये भने पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो । यस्तै, बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदकसहित पाँचौं स्थान प्राप्त गरेको छ ।
प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदुरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ । लुम्बिनी प्रदेशले ६ स्वर्ण सहित ६८, मधेश प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ । सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक-एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरू गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालन गरिएको हो । यसअघि, सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।