गठबन्धनका उम्मेदवारले भ्रम छर्दैछन् : पाण्डे

दाङ । दाङ निर्वाचन क्षेत्र नं. ३ ( १ ) नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफू विरुद्ध गरिएका गलत प्रचार र भ्रममा नपर्न सबैलाई अपिल गरेका छन् । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार पाण्डेले जनताको मन जित्ने आफ्ना कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारहरूले निकृष्ट खालका आरोप लगाउने गरेको बताए ।
‘विगतमा कांग्रेसले कम्युनिष्टको सरकार बनेपछि ६० वर्ष पुगेकालाई गोली हान्छ । भात खान स्कुलमा थाल थापेर लाइन लाग्नुपर्छ । धर्म मान्दैन भनेर जुन गलत हल्ला फैलाएका थिए । त्यसैगरी अहिले पनि एमालेका विरुद्ध गलत हल्ला फैलाइरहेका छन् । भ्रममा नपर्नुहोला,’ उनले भने ।
उनले सरकारमा आफू बस्ने र तुलसीपुर–घोराही सडक बनाएन भनेर अर्कालाई दोष दिने गठबन्धनका उम्मेदवारको कुरा, भ्रम भएको कुरा स्थानीय तहको निर्वाचनले पुष्टि गरेको पनि बताए । उनले गठबन्धनले भ्रमको खेती मात्रै गर्छ, भन्ने कुरा तुलसीपुर र घोराही उपमहानगरमा एमालेको विजयी यात्राले पुष्टि गरेको बताउँदै सडक र नगरपालिकाको एजेण्डा डेट एक्सपायर एजेण्डा भएकाले अधुरा योजना आफूले पुरा गर्ने बताए ।