खेलबाटै सभ्य र दुव्र्यशनीरहित समाज : नगरप्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खेलबाटै सभ्य र अनुशासित समाजको परिकल्पना गर्न सकिने बताए । उनले पछिल्लो समयमा समाजमा युवा पुस्ता लागुपदार्थ दुव्र्यशनीमा फस्दै गएको अवस्थामा खेल क्षेत्रबाट त्यसबाट बचाउन सकिने बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ ले आयोजना गरेको टोलस्तरीय वडाध्यक्ष कप प्रतियोगिताको समापन गर्दै उनले खेलाडीहरुका लागि पालिकाकोतर्फबाट प्रोत्साहन, सम्मान र पुरस्कारको कार्यक्रम समेत सुरु गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले पालिकाले युवाहरुलाई उद्यम, खेल, सिर्जनात्मक क्षेत्रमा जोड्नका लागि युवा परिषद् नै गठन गरेर वडा वडामा त्यस्ता कार्यक्रमहरुलाई लैजाने बताए ।

वडा नम्बर १४ का वडाध्यक्ष शंकर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि युवा तथा खेल समितिका संयोजक शिवानन्द डाँगीले पालिकाको तर्फबाट खेल क्षेत्र र खेलाडीका लागि प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतियोगितामा फुटबलतर्फ लुहाडबराको समूह प्रथम भएको थियो । मटेरा दोस्रो र भोजपुर तृतीय भएको थियो । प्रथम पुरस्कार २५ हजार, दोस्रो २० हजार र तृतीय पुरस्कार १५ हजार रहेको थियो । विजयी समूहलाई नगद, शिल्ड र सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै भलिबलतर्फ अकमी प्रथम र खौसापुर खोस्रो भएका थिए । प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार दश हजार रहेको थियो ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस