लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा प्रदेश लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् ।
कार्यक्रममा उनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका थिए । उनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको भन्दै अहिलेको शिक्षा क्षेत्रमा पनि सुधार हुन आवश्यक रहेको बताए । स्थानीयस्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले पाँचवटा प्रदेशमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको प्रदेश प्रमुख शेरचनले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले खोपको महत्व बुझाउन नसक्दा खोप घोषणामा समस्या भएको र समुदायस्तरमा खोपको विषयमा जानकारी नहुँदा बालबालिकाहरूमा कुपोषण हुने गरेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पाल्पा स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरी, युनिसेफका केन्द्रीय प्रतिनिधि तारिकु बह्रममु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणामा महत्वपूर्ण योगदान पु¥याएका प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मीलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रदेश पूर्णखोप समन्वय समितिका सदस्य सचिव डा.विनोदकुमार गिरीले स्वागत गरेका थिए ।