साफ यू-१७ : भारतलाई ३-१ गोलले हराउँदै नेपाल समूह विजेता

भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
२५औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए । लगत्तै खेलको ४९औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलमा नेपालले २–१ को अग्रता लियो । त्यसपछि खेलको ६८औँ मिनेटमा सुभाष बमले अर्काे गोल थपेसँगै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो ।
समूह ‘बी’ मा रहेका नेपाल र भारत दुवै टोली आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने भारतले पनि भुटानलाई ३–० ले हराएको थियो ।