अरनिको मावि रोल्पा र मुसीकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाइनलमा

दाङ । तुलसीपुरमा जारी अन्तर कलेज स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ मा अरनिको मावि नुवागाउँ रोल्पा र मुसीकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाइनलमा प्रवेश गरेको छन् । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा सञ्चालित प्रतियोगिताको बुधवार सम्पन्न प्रिक्वार्टर फाइनल खेलमा राप्ती बबई क्याम्पस तुलसीपुरलाई २५–१६,२५–२१ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै अरनिको मावि नुवागाउँ रोल्पाले क्वाटर फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै दोस्रो प्रिक्वार्टर फाइनल खेलमा आरती टेक्निकल कलेज सल्यान लाई २५–१५, २५–१५ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै मुसीकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाइनल यात्रा सुरक्षित गरेको हो । यसैबीच प्रतियोगिता अन्तरगत बिहीवार बिहान क्वाटर फाइनल प्रवेशका लागि हुन खेलमा शिद्धेश्वरी मावि रूपन्देही र महेन्द्र रत्न मावि पिपलनेटा सल्यान भिड्नेछन् । त्यस्तै दोस्रो प्रिक्वार्टरमा न्यु होराइजन मावि रूपन्देही र गोरखा मावि तुलसीपुर ( रातो ) बिच खेल भिडन्त हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पु-याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके , रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।