आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो बस्ने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ। बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको छ।
यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको इतर समूहले भने सरकार भ्रष्टाचारमा डुबेको भन्दै कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ। आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधान अनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो।