गोरखा तुलसीपुरले ग¥यो पदकधारी खेलाडीलाई सम्मान

दाङ । दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको गोरखा माबी तुलसीपुरले पदकधारी खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ । जिल्ला स्तरको रनिङ शिल्ड प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै लगातार तेस्रो पटक उपाधि दिलाएर शिल्ड कब्जा गर्न सफल खेलाडीलाई हौसला स्वरुप विद्यालयले नगद पुरस्कारले सम्मान गरेको हो ।

स्थापना कालदेखि शिक्षासँगै खेलकुदलाई उच्च प्राथमिकतामा राखेको विद्यालयले लक्ष्य र उद्देश्य अनुरूप विद्यालयमा अध्ययनरत खेलाडीले पालिका, जिल्ला हुँदै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा विद्यालय र सिङ्गो जिल्लाको सान र गौरवलाई उच्च बनाएको भन्दै स्वर्ण, रजत र कास्य पदक हात पार्न सफल खेलाडीलाई क्रमशः जनही तीन, दुई र एक हजार नगद पुरस्कारले सम्मान गरिएको विद्यालयका विद्यालयका खेलकुद संयोजक मोहन सुनारले बताए । प्रधानाध्यापक जिएमका अनुसार १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डमा विद्यालयले जितेका ९ स्वर्ण २ रजत र ३ कास्य पदकमा सर्वाधिक ४ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्ने कक्षा १० मा अध्ययनरत करुणा रिजाल नगद १५ हजार पुरस्कारले सम्मानित भईन् । 

त्यस्तै ३ स्वर्ण जितेकी विष्णु ओलिले नगद ९ हजार,  २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकी रबिना रेउले ९ हजार, २ स्वर्ण, १ कास्य, पदक जित्ने चित्रबहादुर बस्नेत नगद ७ हजारले सम्मानित भए । त्यस्तै दुई/दुई स्वर्ण पदक जितेका रितिका बोहरा, रक्षा बस्याल र प्रतिक न्यौपाने जनही ६ हजारले सम्मानित भए । यसैगरी कास्य पदक दिलाउने दिपेश राम्जा मगर, विशाल परियार, विप्लव परियार, देविसरा वलि, दीक्षा बस्नेत, सरु वलि, दिपशिखा शाही जनही एक/एक हजार पुरस्कारले सम्मानित भए ।
 
त्यस्तै विद्यालयलाई १०औ र ११औ जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड दिलाउँदै राष्ट्रिय तथा १३ दक्षिण एशियाली खेलकुद सागमा सहभागी अन्तर्राष्ट्रिय खेलाडी अरुणा रिजाल र सिमान थापालाई सम्मान गरिएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको र जिल्ला खेलकुद बिकास समितिका दाङका कार्यालय प्रमुख पद्मा चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो । विद्यालयका प्रधानाध्यापक विजय जिएमको स्वागत रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस