तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

तुलसीपुर । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । पशुपति माध्यमिक विद्यालयको आयोजनामा बेलझुण्डीको रङ्गशालामा प्रतियोगिता शुरु भएको हो । पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख टीकाराम खड्काले नगर क्षेत्रलाई खेलका माध्यमबाट राष्ट्रमै परिचय स्थापित गर्नका लागि खेलाडीहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले प्रत्येक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्था गरेर विद्यालयबाट नै खेलाडीहरु उत्पादन गरिने बताए । नगरप्रमुख खड्काले प्रत्येक वडा एक खेल क्षेत्रको अवधारणाका साथ ती खेल क्षेत्रको पूर्वाधारमा विशेष जोड दिइने बताए ।

असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका विभिन्न विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरुको सहभागिता रहेको छ । नगरप्रमुख टीकाराम खड्काले दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पदमा चौधरीलाई खेल सामग्री हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस