राजिनामाको माग गर्दै महिला संघ बबई द्वारा गाउँपालिका उपाध्यक्षको पुत्ला दहन

दाङ । दाङको बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काको राजिनामाको माग गर्दै नेपाली कांग्रेसको भ्रातृसंगठन महिला संघले पुत्ला दहन गरेको छ । महिला संघ बबईका अध्यक्ष प्रेमा कुमारी बुढाथोकीको नेतृत्वको टोलीले बबई गाउँपालिकाको गेटमा उपाध्यक्ष खड्को पुत्ला दहन गरेको हो ।

नेपाली कांग्रेसबाट चुनाव जितेर कार्यपालिका चुनावमा नेकपा एमालेलाई सहयोग गर्नुले महिला संघसहित सम्पूर्ण जनसमुदायको चित्त नबुझेको बताउँदै जनताको निर्णय विपरित जाने उपाध्यक्षले तत्काल राजिनामा दिनुपर्ने र पार्टीले आउँदा दिनमा यस्ता गल्ती कसैले नगरून् भन्ने सन्देश दिनपनि यस्ता ब्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने अध्यक्ष बुढाथोकीले बताइन् ।

यसअघि पनि महिला संघ बबईले उपाध्यक्षको राजिनामा माग गर्दै नेपाली कांग्रेस बबईलाई अनुरोध गरेको थियो । यसबारे पार्टीले चित्तबुझ्दो निर्णय सार्वजनिक नगरेकाले पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन परेको अध्यक्ष बुढाथोकीले बताइन् ।

अर्को प्रसङ्गमा कुरा गर्दै अध्यक्ष बुढाथोकीले उपाध्यक्ष खड्काले अन्तरघात नगरेको भए यसरी भागी भाग हिँड्नु नपर्ने बताइन् । बुढाथोकीले उनीले गल्ति नगरेको भए तत्काल सम्पर्कमा आएर स्पष्टीकरण दिनुपर्ने बताइन् । उनले उपाध्यक्ष खड्काको राजिनामा नआउँदासम्म र पार्टीले उचित कारबाही नगर्दासम्म आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने बताइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस