देउखुरी क्षेत्रमै पहिलो पटक भिडियो एक्सरे सेवा

दाङ । देउखुरीको लमही सिटी हस्पिटलले पहिलो पटक अत्याधुनिक मेसिनद्वारा भिडियो एक्सरे सेवा सुरु गरेको छ । भर्खरै स्थापना भएको हस्पिटलले देउखुरी क्षेत्रमै पहिलो पटक कन्सल्टेन्ट रेडियो लोजिष्ट डाक्टर आशिष श्रेष्ठद्वारा भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको हो ।
मणिपाल टिचिङ हस्पिटल पोखरामा लामो समयसम्म भिडियो एक्सरे गरेका कन्सल्टेन्ट रेडियो लोजिष्ट डाक्टर श्रेष्ठ अनुभवी डाक्टर हुन् । लमही सिटी हस्पिटल प्रालिका प्रबन्ध निर्देशक डाक्टर मदन बस्नेतका अनुसार अत्याधुनिक Samsung HS 40 मेसिनको प्रयोगबाट भिडियो एक्सरे सेवा सुरु गरेको हो । कन्सल्टेन्ट डाक्टरको अभावमा भिडियो एक्सरेको सेवा नपाएका बिरामीहरूलाई टाढा जानुपर्ने अवस्थाको अत्यभएको डाक्टर बस्नेतले दावी गरे । उक्त मेसिनले पेटको भिडियो एक्सरे, स्तनको भिडियो एक्सरे, घाँटी तथा थाईराईडको भिडियो एक्सरे, नसाको भिडियो एक्सरे, गर्भवतीको भिडियो एक्सरे सेवा तथा गर्भमा रहेको बच्चाको Anomalies Scan गर्न सकिने डाक्टर बस्नेतले जानकारी दिए ।

यही जेठ महिनाबाट सञ्चालनमा आएको हस्पिटलमा कन्सल्टेन्ट फिजिसियन डाक्टर दिनेश उप्रेतीद्वारा दैनिक रुपमा ओपिडी तथा बिरामी भर्ना सेवा दिइरहेको छ । साथै २४सै घण्टा मेडिकल अफिसर डाक्टरद्वारा इमर्जेन्सी सेवा, फार्मेसी तथा ल्याव सेवा सञ्चालनमा रहेको छ । त्यस्तै अत्याधुनिक 500 MAH को डिजिटल एक्सरेद्वारा २४ सै घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा अन्य सेवाहरू थप गरिदै लैजाने योजनामा रहेको प्रबन्ध निर्देशक डाक्टर बस्नेतले जानकारी दिए ।

