२०८० असोज ५ गते शुक्रवार

मारिकोल्सलाई प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधि

 दाङ । दाङको तुलसीपुरमा सञ्चालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि क्याम्पस अफ लाइभ साईन्सेस् (मारिकोल्स) ए ले जितेको छ । क्याम्पस अफ लाइभ साईन्सेस् तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बुधबार सम्पन्न फाइनल खेलमा तुलसीपुर मेट्रो कलेज हरिपौरी दाङलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै क्याम्पस अफ लाइभ साईन्सेस् (मारिकोल्स) ले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाइनलमा सम्मानजनक हार ब्यहोरेको मेट्रो कलेज हरिपौरी उपविजेतामा सीमित रहदै नगद १५ हजार, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको खेल मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको दोस्रो हाफ्को २३औ मिनेटमा क्याम्पस अफ लाइभ साईन्सेस्का जर्सी नं. १२ का रामसन केसीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री मोहन गौतम, सन्दिप बिक, किरण नाथ योगी रहेका थिए ।

चार दिन सम्म चलेको अन्तर कृषि कलेज स्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह क्याम्पस अफ लाइभ साईन्सेसका क्याम्पस प्रमुख केशर खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धि असम्भव भएको बताए । 

मावन समाज र अनुशासनको मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धि सम्भव छैन अव स्थानीय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ उनले भने । सो अवसरमा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ बेस्टप्लेयर खेलाडी क्याम्पस अफ लाइभ साईन्सेसका अन्जन चौधरी, हाईवस्कोर क्याम्पस अफ लाइभ साईन्सेसकै विज्ञान गौतम र वेस्ट गोल किप्पर तुलसीपुर मेट्रो कलेजका अशोक शर्मा घोषित भएको क्याम्पस अफ लाइभ साईन्सेसका सञ्चालक तथा एकेडेमिक एडभाइजर मनोज बस्नेतले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्याम्पस अफ लाइभ साईन्सेसका छात्रा रितु बराइलीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस