तराईभन्दा पहाडमा अहिले औलोको जोखिम बढ्दै

दाङ । तराईभन्दा पहाडमा अहिले औलोको जोखिम बढ्दै गएको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले बताए । बढ्दो बसाई सराई, जलवायु परिवर्तन, बढी जनसंख्या औलोको मुख्य कारण रहेको बताउँदै उनले
व्यक्तिबाट व्यक्ति र आयातित औलोका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । उनले औलो नियन्त्रणका लागि सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई स्वास्थ्यका क्षेत्रमा प्रभावकारी भुमिका खेल्न आग्रह पनि गरे ।
पछिल्लो तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १ सय २३ जनामा औलो देखा परेको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा प्रदेशका १ सय २३ जना मध्ये सबैभन्दा धेरै बाँकेमा ७८ जनामा औलो देखा परेको बताए ।
यता, दाङमा पनि औलो परिक्षण गराएका १ हजार ७ सय ३३ जनामध्ये ५ पुरुष र १ महिला गरी ६ जनामा औलो पुष्टि भएको कार्यालय फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
लुम्बिनी प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख विनोदकुमार गिरीले औलोको प्रसार तराईभन्दा पहाडमा बढेको हुँदा यसको प्रचार–प्रसार र सचेतना बढाउन आवश्यक रहेको बताए ।
उनले सबै खाले रोग निवारणको काम भईरहेकाले यसको प्रभाव सकारात्मक परेको बताए । उनका अनुसार अहिले पनि प्रदेशका भैरहवा, कृष्णनगर र बाँकेमा कोरोना, मलेरिया र हात्ती पाईले विरुद्धको जाँच भईरहेको छ ।
बेलैमा उपचार गर्न र समस्या समाधानका लागि परिक्षणको दायरा बढाइएको बताए । यस्तै स्थानीय तह निर्वाचनपछि व्यापक रुपमा परिक्षण गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
औलो नियन्त्रण गर्न परिक्षणको दायरा बढाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको उनको भनाई थियो । नेपाल सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिए पनि नियन्त्रणमा गर्न चुनौति रहेको छ । हिजोमात्रै दाङसहित देशैभर औलो रोग विरुद्धको दिवस मनाइएको थियो ।