दाङमा डेढ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्ध खोप

दाङ । दाङमा डेढ लाख बढी बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइएको छ । जिल्लामा चैत २३ देखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानका क्रममा हालसम्म जिल्लाका दशवटै पालिकामा १ लाख ७० हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्ध खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

दाङमा १५ महिनादेखि १५ बर्षसम्मका करिब २ लाख २ हजार १ सय ३४ बालबालिकाहरुमध्ये हालसम्म १ लाख७० हजार बालबालिकाहरुलाई खोप दिइएको कार्यालय प्रमुख शाहीले बताए । जिल्लामा २ लाख बढी बालबालिकालाई खोप दिने लक्ष्य रहेको र अभियान अझै केही दिन चल्ने उनको भनाई छ ।

कार्यालय प्रमुख शाहीले १५ महिनादेखि १५ बर्षसम्मका २ लाख बढी बालबालिकामध्ये अभियानका क्रममा १ लाख ९० हजारसम्म बालबालिकाहरुलाई खोप दिन सके जिल्लामा लक्ष्य पूरा हुने बताए । सहरी तथा सुगम क्षेत्रहरुमा बालबालिका खोप दिन सहज भएपनि भौगोलिक रुपमा दुर्गम राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कठिनाई भएको बताईएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार २ लाख २ हजार १ सय ३४ बालबालिकाहरुमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र ३४ हजार ९ सय ६६ बालबालिका विद्यालय बाहिर रहेका छन् । अभियानअन्तर्गत खोपका लागि जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।

खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । देशभर चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सुरु भएपनि दाङमा बालबालिकाहरुको बार्षिक परीक्षालाई मध्यनजर गर्दै दुई दिनअघि चैतको २३ गतेदेखि अभियान सुरु भएको थियो । अभियान यही बैशाखको १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस