समस्या भएका पालिकामा मित्रवत् प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन्। चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ।’

यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए। ‘जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा  सहमतिका आधारमा तालमेल गरेका छौँ,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसात गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ। तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन। प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो।

उनले गठबन्धन अब चुनावी तयारीमा होमिएको बताए। केही समय अघिसम्म चुनाव सार्ने हल्ला फैलाइए पनि अब निर्धारित समयमै चुनाव हुने स्पष्ट भएको प्रचण्डको भनाइ थियो। थाहा खबरबाट

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस