कोभिडका कारण दाङमा ज्यान गुमाएकाहरुको परिवार राहत लिन नजाँदा सवा करोड बजेट फ्रिज हुने सम्भावना

दाङ । दाङमा कोभिडका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले बजेट छुट्याए पनि धेरैले राहत लिन गएका छैनन् । स्वास्थ्य कार्यालय दाङका अनुसार चालुआर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको सिफारिसमा प्रदेश सरकारले कोभिडका कारण ज्यान गुमाएकाहरुको हकमा एकमुष्ट रुकम पठाएकोमा अधिकांश पीडित परिवार राहत रकम लिन नआएको जिल्ला कोभिड फोकल पर्सन कमल चन्दले बताए ।

स्वास्थ्य कार्यालय दाङको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयको अनलाईन पोर्टलमा पठाइएको आधारमा कोभिडका कारण ज्यान गुमाएकाहरुको संख्यालाई आधारमा मानेर २ सय २३ जनाका जनही १ लाखका दरले कुल दुई करोड २३ लाख राहत रकम निकासा भई आएकोमा हालसम्म ८८ जना कोभिड पीडित परिवारले मात्रै रकम लगेको उनले बताए । जसका कारण कोभिडले ज्यान गुमाएका १ सय ३५ जनाका कुल १ करोड ३५ लाख रुपैयाँ फिर्ता जाने जोखिम बढेको छ ।

यसअघि प्रदेश सरकार स्वास्थ्य मन्त्रालले गरेको विभिन्न मितिको निणर्य अनुसार जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा रकम पठाइएकोमा मृतकको बारेमा जानकारीसहित आवेदन दिएका पीडित परिवारलाई राहत दिइएको छ । तर, अहिले पनि मृतकको नाममा राहत रकम आएपनि पीडित परिवारका सदस्यहरुबाट आवदेन नआएकाले पनि राहत रकम दिन नसकिएको बताइएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस