कोभिडले ज्यान गुमाएकाहरुको परिवार राहत लिन गएनन्
दाङ । दाङमा कोभीडका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले बजेट छुट्याए पनि धेरैले राहत लिन गएका छैनन् । स्वास्थ्य कार्यालय दाङका अनुसार चालुआर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको सिफारिसमा प्रदेश सरकारले कोभीडका कारण ज्यान गुमाएकाहरुको हकमा एकमुष्ट रकम पठाएकोमा अधिकांश पीडित परिवार राहत रकम लिन नआएको जिल्ला कोभीड फोकल पर्सन कमल चन्दले बताए ।
स्वास्थ्य कार्यालय दाङको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयको अनलाईन पोर्टलमा पठाइएको आधारमा कोभिडका कारण ज्यान गुमाएकाहरुको संख्यालाई आधारमा मानेर २ सय २३ जनाका जनही १ लाखका दरले कुल दुई करोड २३ लाख राहत रकम निकासा भई आएकोमा हालसम्म ८८ जना कोभिड पीडित परिवारले मात्रै रकम लगेको उनले बताए ।
यसअघि प्रदेश सरकार स्वास्थ्य मन्त्रालले गरेको विभिन्न मितिको निणर्य अनुसार जिलला आपतकालीन कार्य संचालन केन्द्रमा रकम पठाइएकोमा मृतकको बारेमा जानकारीसहित आवेदन दिएका पीडित परिवारलाई राहत दिइएको छ । तर, अहिले पनि मृतकको नाममा राहत रकम आएपनि पीडित परिवारका सदस्यहरुबाट आवदेन नआएकाले पनि राहत दिन नसकिएको बताइएको छ ।
राहत रकम लिनका लागि कोभिडका कारण ज्यान गुमाएको व्यक्तिको स्पष्ट विवरण खुल्ने नाम थर, पीसीआर रिपोर्ट, वडा कार्यालयबाट मृतकको सिफारसि, राहत प्राप्त गर्ने व्यक्तिको पहिचान खुल्ने विवरण, मृत्यु दर्ता प्रमाण पत्रसहति आवदेन दिन स्वास्थ्य कार्यालय दाङले अपिल गरेको छ ।