रोकियो विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम

दाङ । घोराही उपमहानगरपालिकाले चालु शैक्षिक सत्रमा सुरु गरेको विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था ४ महिनामै रोकिएको छ । बालबालिकालाई स्वास्थ्य सचेतना दिन, स्वास्थ्य प्रबद्र्धन गर्न तथा आधारभूत स्वास्थ्य सेवा समेत विद्यालयमा उपलब्ध गराउने उद्देश्यले संघीय सरकारले यस प्रकारको नीति कार्यक्रम ल्याएको थियो ।

त्यो अनुरूप घोराही घोराही उपमहानगरपालिकाले पनि घोराही क्षेत्रमा रहेका नमुना विद्यालयका रूपमा रहेका माध्यमिक विद्यालय रझेना र पद्मोदय नुमना माविमा यस प्रकारको कार्यक्रम सुरु गरेको थियो । तर, विद्यालयमा राखिएका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट रोकिदिएपछि अहिले मावि रझेनामा स्वास्थ्यकर्मी हटाइएको छ । भरतपुरमा भने विद्यालय व्यवस्थापन समितिले तलव खुवाउने गरी चालु आर्थिक वर्षसम्मका लागि राखिएको छ । नगरले अन्य विद्यालयमा पनि यस प्रकारको कार्यक्रम विस्ता गर्नुपर्ने समयमा विद्यालयमा सञ्चालि कार्यक्रमको बजेट रोकिदिँदा विद्यार्थीहरू समस्या भोग्न बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिकाले बजेट दिएर राखिएको स्वास्थ्यकर्मी बजेट दिन छाडेपछि अहिले विद्यालयमा स्वास्थ्यकर्मी नराखिएको मावि रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए । माघ महिनादेखि स्वास्थ्यकर्मीका लागि तवल खुवाउने बजेट नआएको उनले बताए । ‘विद्यालयसँग आम्दानी छैन, नगरले बजेट नदिएपछि स्वास्थ्यकर्मी राख्न छोडिएको हो’, प्रअ न्यौपानेले भने ‘यसका बारेमा पटक–पटक उपमहानगरपालिकामा जानकारी गराउने काम भएको छ ।’

विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीहरू बिरामी हुँदा विद्यालयमै प्राथमिक उपचार गरिन्थ्यो तर अहिले विद्यालयमा स्वास्थ्यकर्मी नहुँदा विद्यार्थीहरू सामान्य बिरामी पर्दा समेत अस्पतालसम्म लैजानु पर्ने बाध्यता भएको प्रअ न्यौपाने बताउँछन् । अहिले विद्यालयमा दैनिक १÷२ जना विद्यार्थी बिरामी पर्ने गरेका छन् । ‘विद्यालयमा स्वास्थ्यकर्मी आवश्यक पर्छ, यस प्रकारको कार्यक्रम जारी राख्नु पर्छ’, उनले भने । अहिले पनि विद्यार्थीहरूले स्वास्थ्यकर्मी आएनन् भनेर सोध्ने गरेको उनले बताए । हरेक विद्यालयमा स्वास्थ्यकर्मी आवश्यक पर्ने उनी बताउँछन् ।

विद्यालयमा कसरी स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भनेर विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने उनले बताए । ‘विद्यालयको आम्दानीको स्रोत छैन तर स्वास्थ्यकर्मीको आवश्यक छ, यो विषयमा कसरी अगाडि बढ्ने भनेर व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने छौँ’, प्रअ न्यौपानेले भने । नगरले बजेट नदिएपछि अब आप्mनै खर्चमा भए पनि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सोचमा आफूहरू रहेको उनले बताए ।

पद्मोदय नमुना मावि भरतपुरले नगरले बजेट दिन छोडे पनि स्वास्थ्यकर्मी राखिराखेको जनाएको छ । विद्यालयले आफ्नै खर्चमा स्वास्थ्यकर्मी अहिले तलव खुवाउने गरेको विद्यालयका प्रअ रामप्रसाद जैसीले बताए । गत माघ महिनादेखि विद्यालयले नै तलव खुवाइराखेको उनले बताए । ‘हामीले विद्यालय व्यवस्थापन समितिको बैठकबाट चालु आर्थिक वर्षको असार मसान्तसम्मलाई राख्ने निर्णय गरेका छौँ’, प्रअ जैसीले भने, ‘असारपछि के गर्ने भनेर निर्णय पछि गरिनेछ ।’

नगरले सहयोग गरेमा विद्यालयहरूलाई सहयोग पुग्ने जैसीको भनाइ छ । धेरै विद्यार्थीहरू रहेका विद्यालयमा स्वास्थ्यकर्मी आवश्यक पर्ने समेत उनी बताउँछन् । स्वास्थ्यकर्मी भएमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना प्रदान गर्न सहज हुने उनले बताए । ‘स्वास्थ्यकर्मी भएमा विद्यालयमै प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ’, उनले भने ।

घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले नगरले विद्यालयमा स्वास्थ्यकर्मीका लागि ४ महिनाको बजेटको निकासा गरिएको बताए । त्यसपछि अहिले बजेट निकासा हुन नसकेको उनको भनाइ छ । ‘विभिन्न समस्याका कारण बजेट निकासा हुन सकेको छैन’, प्रमुख गौतमले भने, ‘उपमहानगरपालिकाले आप्mनो आन्तरिक स्रोतबाट यस प्रकारको कार्यक्रम सुरु गरेको हो ।’ हामीले यस प्रकारको कार्यक्रम क्रमशः विस्तार गदै लैजाने योजनामा रहेका थियौँ तर अहिले सुरु भएका विद्यालयमा समेत बजेट दिन नसकिएको गौतमको भनाइ छ ।

विद्यालयमा अफिसर सरहको सुविधा दिएर स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थियो । ‘यस प्रकारको कार्यक्रम संघीय सरकारले समेत प्राथमिकता दिएको छ’, गौतमले भने । बालबालिकाको हरेक क्षेत्रको विकासका लागि हरेक क्षेत्रसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ । ‘शिक्षासँगै हरेक विधाको बारेमा सहभागी गराउन आवश्यक छ’, प्रमुख गौतमले भने ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस