स्वास्थ्य नै बिकास समृद्धिको आधार हो : स्वास्थ्य मन्त्री थारु

गढवा । नागरिकहरुको स्वास्थ्य नै बिकास र समृद्धिको पहिलो आधार भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इनद्रजित थारुले बताए । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देउखुरीको गोबरडिहामा बुधबार आयोजना गरेको टाईफाइड बिरुद्धको खोप सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैत्र २३ देखि ३० गतेसम्म १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड बिरुद्धको खोप संचालन गर्न थालिएको मन्त्री थारुले कार्यक्रममा बताए । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र मन्त्री थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र खोप हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री थारुले १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरु ध्रुलो मैलो र पानीमा खेल्ने भएकोले टाइफाइडको संक्रमण बढी हुने हुँदा बालबालिकालाई मात्र यो खोप लगाउने अभियान सरकारले सुरु गरेको बताए । मानिसको स्वास्थ्य खानपान र पानीका कारण प्रतिकुल हुने हुँदा स्वस्थ्य नागरिक बन्न खानपान, सरसफाई र पिउने पानीमा ख्याल गर्नुपर्ने उनले बताए । नागरिकहरुको स्वास्थ्यप्रति सरकारको दायित्व रहेको बताउँदै नागरिक स्वस्थ्य भएमात्र देशको बिकास र समृद्धि अगाडी बढ्ने उनले बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १३ लाख १३ हजार र दाङ जिल्लामा मात्रै १ लाख ५६ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाउने अभियान सुरु गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख दिवाकर महर्जनले कार्यक्रममा बताए । सरकारले यसअघि १३ किसिमका नियमित खोप संचालन गर्दै आएको र टाइफाईड बिरुद्धको खोप सुरुवात गरि १४ किसिमका नियमित खोप पु¥याएको उनले बताए । यो अभियानले बाल मृत्युदर कम गर्ने सरकारको लक्ष्य रहेको र नेपाल सरकारले आगामी बर्षदेखि महिलाहरुको पाठेघर क्यान्सरको पनि नियमित खोप संचालन गर्ने तयारी गरेको स्वास्थ्य निर्देशक महर्जनले बताए ।

गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले ८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरि ४२ वटा बिद्यालयमा खोपकेन्द्र राखेर १२ हजार १ सय ७५ बालबालिकाहरुलाई यो खोप लगाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । जसका लागि ७० जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने भएको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले जानकारी दिए । चैत्र ३० गतेसम्म खोपकेन्द्रमा खोप लगाईने र त्यसपछि छुटपुट भएका बालबालिकाहरुका लागि सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुमा खोप दिइने उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय प्रमुख दिवाकर महर्जन, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही, सरस्वती मावीका बिब्यस अध्यक्ष यमनारायण पोखे्रल राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण रावत र गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाशचन्द्र चौधरीलगायतले टाईफाईड बिरुद्धको खोपको महत्वका बारेमा बालेका थिए ।
