भोलीदेखि दाङमा टाइफाइड विरुद्ध खोप दिईने
दाङ । दाङमा भोलीदेखि टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखि सञ्चालन हुने खोप अभियान बैशाख ११ गतेसम्म जारी रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।
आज पत्रकारहरु सँगको छलफल कार्यक्रममा कार्यालयका प्रमुख अंगदबहादुर शाहीले यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने जानकारी गराए ।
पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएकोे छलफल कार्यक्रममा १५ महिनादेखि १५ बर्षमुनीका सम्पूर्ण बालवालिकाहरुलाई खोप अभियानमा सहभागी गराईने उनले बताए । यो रोगबाट बच्नको लागि नियमित सरसफाई र खानपानमा ध्यान दिनुपर्ने प्रमुख शाहीको भनाई छ ।
खोप प्रदान लागि विद्यालयहरुमा केन्द्र स्थापना गरिने र अभियानको भोलीपल्ट स्वास्थ्य कार्यालय मार्फत छुटेका बालवालिकाहरुलाई एक दिन खोप प्रदान गरिने कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिए ।
विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।
यसैविच स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने भएको छ ।