खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने : पूर्वमन्त्री शर्मा
दाङ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताइन् । अल्फा तेक्वान्दो डोजाङ दाङको आयोजनामा घोराहीमा शुरू भएको प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रको विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरिन् । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण लामो समय विद्यालयहरू बन्द भएको र घर भित्र लामो समय बस्नुपर्दा मानसिक स्वास्थ्यमा असर गरेको शर्माको भनाइ छ ।
राज्यले खेलाडीहरू सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् । शर्माले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख पद्मा चौधरीले अहिले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएकाले सरकारले ध्यान दिनुपर्ने बताइन् ।
प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले अन्तर्राष्ट्रिय जगतमा मुलुकको पहिचान दिलाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । अल्फा तेक्वान्दो डोजाङ दाङका अध्यक्ष पदम खत्रीले बालबालिकाहरू विभिन्न खाले क्षमता विकासका लागि खेलकूदमा राज्यले बृहत योजना ल्याएर काम गर्नुपर्ने आवश्यकता ओैंल्याए । सुनिता विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए ।