माओवादी एक्लै चुनाव जित्ने तयारीमा लाग्नुपर्छ : आचार्य

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्री सदस्य निर्मल आचार्यले माओवादीले आगामी स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताए ।

माओवादी केन्द्र राजपुर गाउँपालिकाको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता आचार्यले माओवादीसँग जनताका एजेण्डाहरु धेरै भएकाले जनताले साथ दिने स्पष्ट पारे । सङ्घीयता, गणतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि आगामी निर्वाचनमा सत्तारूढ दलहरुबीच चुनावी गठबन्धन हुनुपर्ने उनले आवश्यकता औंल्याए ।

अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि भएको उल्लेख गर्दै नेता आचार्यले आगामी तीनओटै तहका निर्वाचनसम्म चुनावी गठबन्धन हुनुपर्ने स्पष्ट पारे । राजपुर गाउँपालिकामा माओवादी केन्द्रले चुनाव जितिसकेको उल्लेख गर्दै नेता आचार्यले सवै नेता कार्यकर्ताहरु जनताको साथमा गएर जनपक्षीय एजेण्डा उठाउनु पर्ने धारणा व्यक्त गरे ।

राजपुर गाउँपालिकामा भूमिहीन, सुकुम्बासी तथा नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका नागरिकको उचित व्यवस्थापनका लागि ध्यान दिनुपर्ने उनको भनाई छ । नाका क्षेत्रको विकासमा माओवादीले विगतदेखि नै काम गर्दै आएको उल्लेख गर्दै आचार्यले सडक सञ्जाल विस्तारमा थप कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याए ।

आर्थिक विकासको मुख्य आधार सडक सञ्जाल भएकाले नाका क्षेत्रमा भएका विभिन्न सडकखण्डहरूको गुणस्तर बढाउनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । अर्को एक प्रसङ्गमा कुरा गर्दै नेता आचार्यले नेकपा माओवादी केन्द्रका नेता प्रमोद शर्माले पार्टी छाड्नु विचलन भएको बताए । शर्मामा तीब्र महत्वकांक्षा, व्यक्तिवादी चिन्तन र अराजक शैली भएका कारण बिचलन भएको बताए । शर्मा पार्टीभित्र शान्ति प्रक्रियापछि धेरै अवसर पाउने नेता भएकाले बाहिर प्रचार गरेजस्तो अन्याय नभएको उनले स्पष्ट पारे । माओवादी वरिष्ठ नेता कृष्णबहादुर महरा र समग्र माओवादी केन्द्रलाई बदनाम गराउने नियतले शर्मामा बिचलन पैदा भएको आचार्यले आरोप लगाए ।

कम्युनिष्ट आन्दोलनभित्र केही पात्रहरूमा यस्ता अराजकताबादी शैली विगतदेखि नै आउँदै गरेको उल्लेख गर्दै आचार्यले यस्ता घटनाक्रमबाट कोही पनि तरंगित हुन नहुने धारणा व्यक्त गरे । माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य भीमकुमारी बुढा मगरले माओवादी आन्दोलनलाई अझ उचाइमा पु¥याउनु पर्ने धारणा व्यक्त गरे । माओवादीले प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला स्तरीय अन्य विभिन्न नेताहरूको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा दर्जनौं व्यक्ति प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस