गढवामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गढवा । देउखुरीको गढवा गाउँपालिकास्थित जनता माध्यमिक बिद्यालय गढवामा शुक्रबार बिभिन्न तामझामका साथ पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गढवा गाउँपालिकाभरका सरकारी तथा निजी क्षेत्रका ३६ बढी बिद्यालयहरुको बिविध भेषभुषासहितको मार्चपासपछि गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो कार्यक्रमको उद्घाटन गरेका हुन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षता र गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले खेल मानव स्वास्थ्य र चेतनाकालागि एक बलियो समृद्धिको माध्यम भएको बताए । खेलको माध्यमबाट स्वस्थ्य नागरिकको बिकास हुने र नागरिक स्वस्थ्य भएमा बिकास र समृद्धि पनि संगसंगै अगाडी बढ्ने उनले बताए । कार्यक्रममा गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिक, बुद्धज्योती माध्यमिक बिद्यालयका प्रअ बसन्तराज भट्टराई, जनता माबि कालाकाटेका प्रधानाध्यापक बासुदेव बेल्बासे र जिल्ला एथलेटिक्सका खेल प्रशिक्षक पद्मा चौधरीलगायतले खेलको महत्व र औचित्यका बारेमा बोलेका थिए ।

तीन दिनसम्म संचालन हुने उक्त खेलमा गढवा गाउँपालिकाभरका ३५ बढी बिद्यालयका बिद्यार्थीहरु सहभागि भएर खेल खेल्ने बताईएको छ । सो अवसरमा एक हजार पाँचसय मिटर दौड, हाई–जम्प, लङ्–जम्प, सटपुट, रिले, कबड्डी, भलीवल, फुटवललगायत थुप्रै खेलकुदहरु संचालन हुने बताइएको छ । उक्त कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितिहरु गठन गरिएको र खेलकुदसँगै साँस्कृतिक भेषभुषासहितको नृत्य प्रतियोगिता पनि रहेको आयोजकले जनाएको छ ।

गढवा गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र जनता माध्यमिक बिद्यालय गढवाको आयोजनामा हरेक बर्ष जस्तै यो बर्ष जनता माबी गढवामा खेलकुदको आयोजना गरिएको गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस